भक्तपुरको सिद्धपोखरीमा सञ्चालित ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण
२०८० वैशाख १५ गते, शुक्रबार
वर्षायमबाट हुने सम्भावित विपद्को क्षतिलाई न्युनीकरण, रोकथाम तथा उद्धार गर्नको लागि उपत्यका पृतना हेडक्वाटरको आयोजना र जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वय तथा सुरक्षा फौजको संयुक्त सहकार्यमा आज भक्तपुरको सिद्धपोखरीमा वैशाख १२ देखि १४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै तालिमप्राप्त विपद् उद्धारकर्मीहरुले आफूले सिकेको सीप व्यवहारिक रुपमा जनताको उद्धारमा प्रयोग गरी सम्भावित धनजनको क्षतिमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले विपद् उद्धारकर्मीहरु २४ घण्टा तयारी अवस्थामा रहनुपर्ने बताउँदै भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी विगतका दिनहरुमा विपद्को तालिम सञ्चालन गरी १२४ जना युवाहरूलाई उद्धारको तालिम दिएको बताउनुभयो ।
नगरपालिकाले तालिम प्राप्त उद्धारकर्मीको लागि आवश्यक सामाग्री खरिद गर्नुका साथै विपद् व्यवस्थापन कोष खडा गरी विपद्मा परेका परिवारहरुलाई आवश्यक सहयोग समेत गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल भूकम्पीय दृष्टिले विश्वकै ११ औं जोखिमयुक्त मुलुकमा परेको बताउँदै बढ्दो जलवायु परिवर्तनले नेपाल जोखिममा पर्दै गएको हुँदा यस किसिमको तालिम सञ्चालनले समयमै विपद् न्युनीकरणमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
नंं १ बाहिनी अड्डा बालाजुका बाहिनीपति सहायक रथी पवन खत्रीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त अभ्यास सञ्चालन भएको बताउनुभयो ।
उहाँले यस किसिमको अभ्यासले विपद् प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयतात्मक ढंगबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच भएको ¥याफ्टिङ प्रतियोगिताका विजयी, तालिमका सहभागी प्रशिक्षार्थी र संघ संस्थाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको उक्त समापन कार्यक्रममा विपद्मा परेकाहरुको उद्धारका नमूना अभ्यासका दृश्यहरु देखाइएको थियो ।












