जेष्ठ नागरिकको आदर गर्न आदर निकेटन खुल्यो
भक्तपुर, चैत्र २० गते
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आदर िनकेटनको उद्घाटन गर्नु भएको छ । जेष्ठ नागरिकहरुको आदर र सेवाकालागि भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले निर्माण गरेको सो आदर निकेटनको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले आदर निकेटनमा जेष्ठ नागरिकहरुकालागि विशेषज्ञ सेवा प
नि हुनुपर्नेमा जोड दिदै जेष्ठ नागरिकका अनुभवहरुलाई नयां पुस्ताकालागि नौलो लाग्ने भएकाले उहाँहरुको अनुभव सिकाईमा पनि जोड दिनुपर्नेमा आयोजकहरुको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति, स्थानीय वडाध्यक्ष रविन्द्र ज्यख्व, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, पूर्व वडाध्यक्ष लक्ष्मीप्रसाद कुसी, भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापति सहितले आदर निकेटनको आवश्यकता र यसले जेष्ठ नागरिकलाई दिन सकिने सेवा सुविधाहरुका सवालहरुमा चर्चा गरेका थिए । साथै राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा सहकारी संस्थाहरुको भूमिका र दायित्वका साथै पछिल्लो चरणमा देखिएका सहकारीका विक्रितिहरु बारे पनि चर्चा भयो । समाजकालागि जेष्ठ नागरिक बोज नभएको पुष्टि गर्दै आदर निकेटन नयाँ पुस्ताका लागि अध्ययनस्थल बनाउनुपर्नेमा जोड दिए ।
भक्तपुर साकोसले मूनाफा नलिने उदेश्यका साथ सेवा भावले आदर निकेटन खोलेका हुन । वर्षौपछिको प्रयसलाई सार्थकता दिदै आज आदर निकेटनको भवन उद्घाटन भएको हो । भक्तपुर साकोसको ४८ लाख खर्चमा भक्तपुर नगरपालिका वडा नं. ९स्थित संस्थाको भवन नजिकै ११ आना जग्गामा दुई तल्ले भवन र बगैचा सहितको प्रांगण आज उद्घाटन भएको हो । सो आदरनिकेटनलाई भक्तपुर आदर निकेटन संस्थाको रुपमा सञ्चालनकालागि हाललाई दुईजना कर्मचारी परिचालन गरिएको छ । ४० जना जेष्ठ नागरिकहरुकालागि हेरचाह गर्न सक्ने क्षमताका साथ नाफा नलिने तर आत्मनिर्भरताका साथ सञ्चालनमा ल्याउने तयारी गरेको हो । छोरा छोरी विदेश रहदा वा घेरचाहको कमिले समस्यामा रहेका जेष्ठ नागरिकहरुलाई दिवा सेवा दिने तयारी गरेको छ । ६८ वर्ष देखि ८५ वर्षका जेष्ठ नागरिकहरुलाई विहान ९ बजे देखि साँझ ६ बजेसम्म राखिने छ । आदर निकेटनमा रहने जेष्ठ नागरिकलाई विहानको खाना, दिउँसोको खाजा सहित तिनीहरुको हेरविचार पनि गरिने छ साथै सारीरिक ब्यायाम, स्वास्थ्य सेवाका लागि नर्स सेवा र चिकित्सकको सेवा नजिकैको ख्वप अस्पतालबाट हुने गरी व्यवस्थापन गरिएको छ ।
टोल टोलमा आदर निकेटनको आवश्यकता महसुस गरी रहँदा जिल्लामै पहिलो आदर निकेटनको रुपमा भक्तपुर आदर निकेटन सञ्चालनकालागि भवनको उद्घाटन भएको हो ।
















