भोली देखि हुने एसइइ परीक्षा २०७९को तयारी पूरा
भक्तपुर, चैत्र १६ गते
शुक्रबार देखि सुरु हुने एसईई परीक्षा २०७९को तयारी पूरा भएको कामु परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जनाएको छ । राष्ट्रव्यापी रुपमा विद्यार्थीको योग्यता परिक्षण गर्ने एसइइ परीक्षाको तामझामले विद्यार्थीलाई बोझिलो नहोस भन्दै उहाँले विद्यार्थीले जानेका कुरा लेखाएर ब्यवहारिक बनाउने माध्यमको रुपमा मात्र लिन आग्रह गर्नु भयो । यस वर्षको एसइइ परीक्षामा देशभरका २०३७ परीक्षा केन्द्रबाट २ लाख ४२ हजार ६ सय ७४ छात्र र २ लाख४२ हजार ७१२ छात्रा र अन्य १० जना अन्य गरी ४ लाख ८५ हजार ३९६ जना परिक्षार्थी सहभागी हुने जनाएको छ । त्यस मध्ये जापानको एभरेष्ट स्कूलबाट १४ जना विद्यार्थीहरुले पनि एसइइ परीक्षामा सहभागिता जनाउने भएको परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

२०३७ परीक्षा के्रन्द्र मध्य ४६३ परीक्षा केन्द्रमा प्राविधिकधार तर्फका १५ हजार ४६१ विद्यार्थीहरुले पनि परीक्षामा सहभागीता जनाउने छन् भने कुल १२०८३ विद्यालयहरु मध्येबाट प्राविधिक धारका ५०५ वटा विद्यालयहरु पनि एसइइ परीक्षा २०७९मा सहभागी हुने छन् । यसै गरी ३३ जिल्लाका ६६ विद्यालयबाट संस्कृति अध्ययन गर्ने विद्यार्थीहरुले ५६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
परीक्षामा सहभागि हुने ५५ जना दृष्टिविहिन विद्यार्थीहरुका लागि भने पढेकै विद्यालयहरुमा उपपरीक्षा केन्द्रको ब्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार अशक्त परीक्षार्थीहरुका लागि ९ कक्षा पढेका विद्यार्थीलाई सहयोगिको रुपमा राख्न सकिने उल्लेख गर्दै उहाँले एस वर्षको एसइइ परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षाकर्मी लगायत परीक्षा सहायक र कार्यालय सहयोगी गरी जम्मा ७७ हजार ९९२ जनशक्ती परिचालन गरेको छ ।
यस वर्षको एसइइमा सामुदायिक विद्यालयबाट ३ लाख ४३ हजार ७९ र प्राइभेटबाट १ लाख ४२ हजार ३१७ परिक्षार्थीहरु सहभागि हुने छन् भने ग्रेट वृद्धिका ९ हजार ८८३ विद्यार्थीहरुले पनि सहभागिता जनाउने छन् ।













