सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ ः अध्यक्ष बिजुक्छेँ

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ ः अध्यक्ष बिजुक्छेँ
भक्तपुर । २०७९ फागुन ११, बिहीबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी माध्यमिक विद्यालयको ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले शासक दलहरुबाट गरिब जनतालाई शिक्षाको पहुँचबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै सरकारको नीतिगत खोटको विरोध र आलोचनालाई देशभक्त जनताले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने बताउँदै उहाँले व्यक्तिगत स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताउनुभयो ।


शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरीअन्तर्गत ३ वटा कलेजहरु संयुक्त रुपमा अगाडि बढाइरहेको बताउँदै देशकै नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्ने उद्देश्यअनुरुप यी शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरणको रुपमा बागीश्वरी रहेको बताउँदै बागीश्वरीले हरेक चुनौतीलाई अवसरको रुपमा परिणत गरी आजको सफलता हासिल गरेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी सराहनीय काम गर्दै आइरहेको र पाठ्यक्रमको व्यवहारिक र वैज्ञानिक ढंगले अगाडि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
घोकन्ते विद्याको औचित्यता नरहेको प्रष्ट पार्दै उहाँले विद्यार्थीहरुलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरु तुलनात्मक रुपमा अगाडि बढ्नेछन् भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा बागीश्वरीले शिक्षामा नमुना काम गरी नविन आयाम थपिरहेको बताउँदै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति संघर्ष जारी रहने बताउनुभयो ।
उहाँले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउँदै बागीश्वरीले बीबीएको कक्षा सञ्चालनसँगै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरुको रुपमा सञ्चालनमा रहेको बताउँदै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रुपमा अगाडि बढाउन टेवा पुगेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्र प्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको बताउँदै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बागीश्वरी कलेजका प्रअ धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
बागीशवरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र ज्याख्वले सभा बिसर्जन गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवादज्ञापन गर्नुभयो । सोही क्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक राजन लाखाले स्वागत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि विद्यालय चाँदनी रानी बैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक श्री ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एस.ई.ई. टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो ।