रक्त सञ्चारमा रगतको अभाव भक्तपुरका टोल टोलमा रक्तदान अभियान
भक्तपुर, भाद्र ९ गते
रक्त सञ्चार सेवा केन्द्र भक्तपुरमा रगतको अभाव भएपछि टोल टोलमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा बढ्न थालेपछि रक्तदानका कार्यक्रमहरु आयोजना हुन नसक्दा केन्द्रमा रगतको अभाव भएको भन्दै रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले टोल टोलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको बताएका हुन । जिल्लाका रेडक्रस उपशाखाहरुलाई आआफ्नो टोल टोलमा रक्तदानका कार्यक्रम आयोजना गर्न निर्देशन समेत दिइ सकेको उहाँले बताए । रगतको अभाव भएपछि सुडाल उपशाखाले ३ पटक, छालिग उपशाखा, सिरुटाल उपशाखाले १ ।१ पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको उल्लेख गर्दै अरु उपशाखाहरुले पनि रक्तदानका कार्यक्रम आयोजना गर्दै रगतको अभाव पूर्ति गर्ने जनाएको छ । सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षा व्यवस्था गरेर रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ । रगत नपाए भक्तपुर आउनु भन्ने उद्घोष गर्दै आएको रक्त सञ्चार केन्द्र भक्तपुरले बढ्दो रगतको मागलाई ध्यान दिएर टोल टोलमा रक्तदान कार्यक्रम आयोजना गर्न रेडक्रसकर्मी, रेडक्रसका उपशाखा, युवा सर्कल, विभिन्न क्लव, टिम तथा संघ संस्थाहरुलाई आग्रह गरेको हो ।














