भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन

भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन
भक्तपुर । २०७९ असार ८ गते, बुधबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्नुहुँदै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरुलाई जानकार गराउन शिक्षकहरुले जोड दिनुपर्ने बताउनुभयो ।
शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको उल्लेख गर्नुहुँदै उहाँले मन्त्रीले ऐन लागू गर्ने भन्दा पनि नीतिगत काममा जोड दिनुपर्छ बताउनुभयो ।


नेपालका युवाहरुलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको बताउनुभयो ।
विश्वविद्यालयको सञ्चालन नगर राज्यबाटै सुरु भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो । भक्तपुर नपाले चित्रकला विषयको अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो ।
आध्यात्मिक विकास नभई भौतिक विकास सम्भव नहुने बताउनुहुँदै नेपालमा राजनीतिक संगठन र बन्दोबस्त सही नहुँदा राणाशासन पतन भएको उहाँले जिकिर गर्नुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउनुहुँदै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको बताउनुभयो ।
भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्ने बताउनुहुँदै उहाँले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालु राख्नुपर्ने बताउनुभयो ।
कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने बताउनुहुँदै उहाँले अस्पताल र उद्योगबाट निस्कने फोहरको विशेष रुपमा संकलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।
‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपछ । न्युनत्तम दुई आना दुई पैसा (०–२–२–०) को नीति अनुसारको आयोजना भएकोले सोहीअनुसार कायम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरुको टोली समेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्नुहुँदै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालनमा जोड दिने बताउनुभयो ।
नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम व्यवहारिक र जनताको जीवनसँग सम्बन्धित रहेको बताउनुहुँदै भक्तपुर नपा देशकै हितको निम्ति मार्गनिर्देश गर्ने स्थानीय तह भएको बताउनुभयो ।
एसपीपीका कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाले एसपीपीको पूर्ण खारेजीको माग गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हावी भइसकेको बताउनुहुँदै सामूहिक चिन्तानसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले समाजवादी चिन्तनको सफल प्रयोग गरिरहेको बताउनुहुँदै भक्तपुर नपाले अपनाइरहेको जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापी रुपम चर्चाको विषय बनिरहेको बताउनुभयो । उहाँले सरकारले समाजवादी चिन्तनमा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुहुँदै देशलाई आत्मनिर्भर बनाउन उद्योगहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले गौरवशाली इतिहास बोकेको भक्तपुर नपा आज देशकै उत्कृष्ट नगरको रुपमा परिचित भएको बताउनुहुँदै काठमाडौं उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी खालका विषयवस्तु समाविष्ट भएको बताउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य आफैमा नमुनायोग्य भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाडौं उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रुपमा अगाडि बढिरहेको बताउनुहुँदै भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । ख्वप विश्वविद्यालयले १५ लाखमा एमबीबीएसको पढाउने नीति सराहनीय भएको बताउनुहुँदै ख्वप विश्वविद्यालय विधेयक पारितगर्न निरन्तर पहल गरिरहन आवश्यक भएको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।