भक्तपुर सिकर्मी संघद्वारा भक्तपुर नपाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन
२०७९ जेठ २० गते, शुक्रबार
भक्तपुर सिकर्मी संघ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र वडाध्यक्षद्वय उपेन्द्र सुवाल, राजकृष्ण गोरा तथा वडा नं। ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको बताउनुहुँदै परम्परागत पेशा व्यवसाय जोगाइराख्न पर्यटकलक्षित वस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सरकारले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न कर छुट गर्नुपर्ने, अनुदानको व्यवस्था, सहुलियत दरमा ऋण प्रदान र स्वदेशी कच्चा पदार्थको प्रयोगमा सहुलियत दिनुपर्नेमा जोड दिनुहुँदै उहाँले आफूसँग भएको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न विभिन्न तालिमहरु समेत सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने काम गरिरहेको बताउनुहुँदै विचार र सिद्धान्तले समाजलाई बदल्ने उहाँले बताउनुभयो । उहाँले संसारकै नवीनत्तम विचार भनेको समाजवादी विचार हो भन्दै नेपालमा अहिले समाजवादी क्रान्तिको खाँचो रहेको औंल्याउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताले पुनः नेमकिपाका प्रतिनिधिमाथि विश्वास गरी अत्यधिक बहुमतले विजयी गराउनुभएकोमा धन्यवादज्ञापन गर्नुहुँदै सिकर्मी पेशा देशको कला र संस्कृति संरक्षण गर्ने सम्मानित पेशा भएको हुँदा यस पेशालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । भक्तपुरको प्रतिष्ठा आजको उचाइँमा पुग्न यहाँका मौलिकता, मूर्त र अमूर्त सम्पदा संरक्षणले महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँै उहाँले जनताको साथ पाएमा जस्तोसुकै चुनौती सामना सजिलैसित हुने बताउनुभयो ।
भनपा वडा नं। ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाले विचार र सिद्धान्तको आधारमा चुनाव जित्दै आएको बताउनुहुँदै राजनैतिक कार्यकर्ताहरु सैद्धान्तिक रुपमा प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।
भनपा वडा नं। ४ का वडाध्यष उपेन्द्र सुवाल भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरेको उल्लेखनीय कार्यको आज सिंगो देशले उच्च प्रशंसा गरिरहेको बताउनुहुँदै नेमकिपाको उद्देश्य देश र जनताको सेवामा निहित रहेको बताउनुभयो ।
संघका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्व भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठी, संघका सललाहकार विष्णुभक्त कुसी, उपाध्यक्ष रामसुन्दर सुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।














