प्रहरी, पत्रकार साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउने नवनियुक्त एसपी थापाको भनाई
भक्तपुर, असार १६ गते
प्रहरी पत्रकार साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउने अपेक्षा गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन आयोजना गरेको छ । नवनियुक्त प्रहरी उपरिक्षक तारादेवी थापासँगको परिचायात्मक कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा थप व्यवस्थित पार्न घटना दुर्घटनाहरुको सूचना सम्प्रेषणमा सुधार्न आवश्यक भएको छलफल गर्दै प्रहरी उपरिक्षक थापाले ठाउँ अनुसार शान्ति सुरक्षाको चुनौति र रणनीति फरक फरक हुने औल्याउँदै चेन अफ कमाण्डमा प्रहरी प्रशासन चल्ने भएकाले जिल्लाको शान्ति सुरक्षाका गतिविधिमा थप सुधार हुने गरी आफूले काम गर्ने बताउनु भयो । नागरिकको शान्ति सुरक्षासँगै मौसमी विपद् र कोरना भाइरसको रोकथाम एवं सचेतनामा पनि प्रहरी लागि रहेको उल्लेख गर्दै उहाँले यसमा प्रहरी थप सबल हुने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा जगाति प्रहरी बिटका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले पूर्वतर्फबाट काठमाण्डौ आएका हजारौ यात्रुहरु जगाति प्रहरी चोक पोष्टबाट फकाउनुपर्दा दुःख लागेको बताउँदै सम्बन्धित जिल्लाबाटै लकडाउन उलंघन नहुने गरी रोक्न सके यात्रुले दुःख नपाउने तथा काठमाण्डौ सुरक्षित हुने विचार व्यक्त गर्नु भयो | थिमी बिटका प्रहरी नायव उपरिक्षक ऋषीराम कंडेलले पत्रकारसँगको साझेदारीले शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिने भएकाले त्यस्तो योजना बनाउन आवश्यक भएको बताउनु भयो भने नेपाल पत्रकार महासंघका अध्यक्ष पुस्कर बुढाथोकी, स्वतन्त्र पत्रकार संघ भक्तपुरका इन्दुल केसी र कृष्ण किसीले प्रहरीले सम्प्रेषण गर्ने सूचना छिटो छरिटो हुनुपर्नेमा जोड दिनु भयो भने परिसरका प्रवक्ता दिपक गिरीले घटनाहरुको विवरण तत्काल सम्प्रेषण गर्दा विस्तृत र सही जानकारी नजाने भएकाले थप अनुसन्धान पछि मात्रै समाचार सम्प्रेषण गर्दा ढिलो भए पनि सही समाचार सम्प्रेषण भइरहेको बताउनु भयो ।















