भक्तपुरमा १ हजार १ जना उम्मेदबार
भक्तपुर, बैशाख १३ गते
आसन्न स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाबाट १ हजार १ जना उम्मेदबारले नाम दर्ता गराएका छन् । बैशाख ११ र १२ गते भएको उम्मेदबारी दर्तामा विभिन्न पार्टी एवं स्वतन्त्र उम्मेदबारहरुले नगर प्रमुख देखि वडा सदस्यसम्मका लागि १००१ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेका अनुसार यसरी उम्मेदवारी दर्ता गर्नेहरुमा चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि २२ जना र उपप्रमुखको लागि १० जना छन् भने वडाध्यक्ष र सदस्य सहित जम्मा सो नगरपालिकामा २८९ उम्मेदबारहरुले नाम दर्ता गराएका हुन् ।

यसै गरी भक्तपुर नगरपालिकाको प्रमुखका लागि १४ जना र उपप्रमुखका लागि ९ जना सहित २२९ जनाले उम्मेदबारी दिएका छन् भने मध्यपुर थिमी नगरपालिकामा प्रमुखको लागि १४ र उपप्रमुखका लागि ९ जना सहित २०७ जना मात्रै उम्मेदवारी परेको छ । सूर्यविनायक नगरपालिकामा भने प्रमुखमा १५ जना र उप्रमुख ७ जना सहित २७६ जनाको उम्मेदवारी परेको कार्यालय प्रमुख न्यौपानेले जनाएको छ । उम्मेदवारी दिएकाहरुमाथि दावि विरोध र आफै उम्मेदवारी झिक्ने प्रकृया पूरा गरी बैशाख १६ गते साँझसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको उहाँले बताए । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन पश्चात मात्रै चुनाव चिन्ह दिने र त्यसपछि मात्रै मत पत्र छपाई हुने कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।













