करीब २९ प्रतिशत घरपरिवार स्वास्थ्य बीमामा जोडिए, ज्येष्ठ नागरिक धेरै ।
सरकारले तोकेको लक्षित समूहमा पर्ने १२ लाखभन्दा बढी मानिस स्वास्थ्य बीमामा आबद्ध गराएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत सोभित रिजालका अनुसार बोर्डले पाँच वर्षमा १२ लाख ८४ हजार ५४२ जना लक्षित जनसंख्यालाई निशुल्क स्वास्थ्य बीमा प्रदान गरेको छ ।
रिजालका अनुसार सरकारले तोकेका लक्षित जनसंख्यामा स्वास्थ्य बीमाको निशुल्क सेवा पाउनेमा सबैभन्दा बढी सेवा पाउनेमा ज्येष्ठ नागरिक रहेका छन् । सो समूहका छ लाख पाँच हजार २०५ जनाले निशुल्क स्वास्थ्य बीमा सेवा लिएका छन् ।
त्यस्तैगरी अति गरिबको परिचयपत्र प्राप्त गरेका चार लाख ८४ हजार ३३५, दुई हजार २१५ जनाले र जटिलखालका क्षयरोगीलाई निशुल्क स्वास्थ्य बीमा सुविधा दिएको रिजाल बताउनुहुन्छ ।
बीमा बोर्डका अनुसार २३ हजार ६८० जना एचआइभी संक्रमित, दुई हजार ६८६ कुष्ठरोगी, ८७ हजार ३१ जना अशक्त अपांगता भएका, र ७९ हजार ३९० जना महिला स्वास्थ्य स्वायंसेविको स्वास्थ्य बीमाको निशुल्क सेवा पाएका छन् ।
रिजालका अनुसार सरकारले अति गरिब, एचआइभी संक्रमित, कुष्ठरोगी,एमडीआर टीबी,अति अशक्त अपाङ्गता भएका परिवारलाई योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरेको छ।
त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदान रकममा ५० प्रतिशत छुटको व्यवस्था गरेको रिजाल बताउनुहुन्छ ।
त्यस्तै गरी ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकको हकमा योगदान र हकमा पूर्ण छुटको व्यवस्था गरेको रिजालले जानकरी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकले स्वास्थ्य बीमाबाट एक लाख सम्मकोउपचार सेवा पाउने व्यवस्था सरकारले गरेको छ ।













