सकियो भविष्य नेपालको पाँचदिने विन्टर क्याम्प
भक्तपुर । भविष्य नेपाल भक्तपुरको आयोजनामा भएको पाँंचदिने विन्टर क्याम्प २०७८ बिहीबार सम्पन्न भएको छ । समापनको अवसरमा सहभागी विद्यार्थीहरुलाई आयोजक भविष्य नेपाल भक्तपुरका अध्यक्ष रमेश प्रधानले प्रमाणपत्र वितरण गर्नुभयो ।
माघ २ गतेबाट सुरु भएको क्याम्पमा भक्तपुर जिल्लाका तीन वटा स्कुलका २० जना छात्रछात्राहरु सहभागी थिए । आदर्श आजाद मावि भेलुखेल, मेधा मावि तेखाचो र बासु मावि कालिघाट व्यासीका कक्षा पाँंचदेखि सातसम्मका छात्राछात्रा सहभागी थिए ।

सहभागी छात्रछात्राहरुलाई विभिन्न कलाहरु सिकाइएको थियो । विद्यार्थीलाई चित्रकला, माटोको भाडा बनाउने, हस्तकलाका सामान बनाउने, पेपर क्राफ्टलगायतका शिप सिकाइएको थियो । साथै त्यस क्रममा उनीहरुलाई हात धुने, ब्रस गर्ने तरिकासमेत सिकाइएको थियो ।
विद्यार्थीको जाडो विदाको समयको सदुपयोगका लागि क्याम्प गरिएको आयोजक भविष्य नेपाल भक्तपुरका अध्यक्ष रमेश प्रधानले बताउनुभयो । सरकारी स्कुलका विद्यार्थीहरुको पहुँंच कम हने भएकाले निजी स्कुलमा नभई सरकराी स्कुलमा अध्ययनतर विद्यार्थीलाई मात्रै क्याम्पमा सहभागी गराइएको आयोजक संस्थाका कार्यक्रम संयोजक श्रद्धा प्रजापति कवांले बताउनुभयो ।













