कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यानमा राखेर अस्पतालहरू तयारी अवस्थामा ।

कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यानमा राखेर अस्पतालहरू तयारी अवस्थामा ।।
स्नेहा कर्ण, सीआईएन, काठमाडौं
नेपाल यतिबेला कोरोना महामारीको तेस्रो चरणको लहरको जोखिममा छ । छिमेकी मलुक भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि सङ्क्रमण हुनेहरुको सङ्ख्या बढ्न थालेको छ । भारतसँग सीमा जोडिएका मुख्य अस्पतालमा कोरोना महामारीलाई ध्यानमा राखी तयारी पनि सुरु भएको छ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेश, कोरोनाका कारण उच्च जोखिममा रहँदै आएको छ । विशेषगरी खुला सीमानाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला कोरोनाका कारण उच्च जोखिममा पर्दै आएको छ । भारतमा कोरोनाको जोखिम बढेसँगै सेती प्रादेशिक अस्पताल तयारी अवस्थामा छ । लुम्बिनी प्रदेशको बाँके जिल्ला कोरोना महामारीको दुबै चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित बन्यो । सीमा नाकाबाट भित्रिनेहरुमा कोरोना सङ्क्रमण दर बढेपछि अस्पतालपनि तयारीमा जुटेको छ । भारतसँग खुला सीमानाका कारण पनि नेपालमा कोरोनाको जोखिम उच्च हुन्छ । कोरोनाको दुई चरणको लहरको सामना गरिसकेको पर्साको नारायणी अस्पताल पनि सम्भावित जोखिमका लागि तयार रहेको बताउनुहुन्छ, अस्पतालका कोभिय संयोजक डा.उदय नारायण सिंह । उहाँका अनुसार पहिलोको पूर्वाधार र तयारीले सम्भावित तेस्रो लहरका लागि हामी सतर्क र सावधान रहेको बताउनुभयो । कोरोनाको पहिलो बिरामीको उपचारदेखि दुबै लहरमा उत्कृष्ट सेवा दिएको नेपालको एक मात्र सरुवारोग अस्पताल हो, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल । पछिल्लो केही दिनदेखि अस्पतालमा फेरि कोरोनाका कारण सङ्क्रमित भएर अस्पताल आउनेको सङ्ख्या बढेको छ । कोरोनाको बढ्दो दरसँग सम्भावित जोखिमलाई ध्यानमा राखेर अस्पतालले आफ्नो तयारी पूरा गरिसकेको छ । अस्पतालका निर्देशक डा.मनिषा रावलका अनुसार ओमिक्रोनलाई ध्यानमा राखेर अस्पतालका स्वास्थ्यकर्मीसहित सबै कर्मचारीसँग यो विषयमा अन्तरक्रिया गरिएको थियो ।