तराईमा शीतलहर बढ्यो, जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

तराईमा शीतलहर बढ्यो, जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या
–सिद्धराज भट्ट

सुदूरपश्चिम, २१ पुस (रासस)ः केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन् ।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ । केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ ।

‘‘हुस्सु र कुहिरोका कारण भिजिविलिटी नहुँदा काठमाडौँ–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,’’ विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भन्नुभयो, ‘‘विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन ।’’ लामो अवधिसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन् ।

पछिल्ला दशकमा आलु, गोलभेँडालगायत तरकारी खेती व्यावसायिक रूपमा भइरहे पनि बर्सेनि देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन मुस्किल हुने गरेको किसानको अनुभव छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेलाई विषादी छर्किनुपर्ने हुन्छ । तर प्रत्येक सात÷आठ दिनको फरकमा विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने भएपछि आलु गोलभेँडालगायत बालीमा किसानको खर्च बढ्ने गरेको छ । ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकले दिने गरेका छन् ।