ख्वप बहुप्राविधिक अध्ययन संस्थानका सिभिल इन्जिनियरिङका विद्यार्थीहरुको अभिमुखीकरण

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका सिभिल इन्जिनियरिङका विद्यार्थीहरुको अभिमुखीकरण
२०७८ मंसिर १० गते, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत सिभिल इन्जिनियरिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षाको अवसर दिने उद्देश्यले भक्तपुर नपाले सञ्चालन गर्दै आएको नर्सिङ कक्षालाई रोक्न खोज्नु शिक्षा मन्त्रालयको जनविरोधी र आपत्तिजनक निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, दुईवटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी हजारौं विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने देशकै एकमात्र भक्तपुर नगरपालिका हो ।
जनताको माग र आवश्यकताअनुसार भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनमा ल्याई बिरामीहरुलाई स्तरीय सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।
पुँजीवादी समाजमा गरिब जनताको जीवनको कुनै अर्थ नहुने बताउनुहुँदै उहाँले नेपाल मजदुर किसान पार्टीले वैज्ञानिक समाजवादको पक्षमा आवाज उठाइरहेको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाको अनुदान र आर्थिक सहायताले कुनै पनि देश बन्दैन भन्दै उहाँले एमसीसीको विरोध नेपालको आत्मनिर्भर अर्थतन्त्र र विकासको निम्ति भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नाफा नकमाउने उद्देश्यले स्थापना भएको सेवामुखी सामुदायिक शैक्षिक संस्था भएको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान सिभिल विभाग विभागीय प्रमुख रमेश सुवालले नवआगन्तुक विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुहुँदै कलेजको अनुशासन, मर्यादामा रही कर्तव्यनिष्ठ ढंगले अगाडि बढ्न शुभकामना दिनुभयो ।