सरकारले रेबिजविरुद्धको आधुनिक खोप सातै प्रदेशबाट दिने ।

सरकारले रेबिजविरुद्धको आधुनिक खोप सातै प्रदेशबाट दिने ।
सरकारले रेबिजविरुद्ध लगाउने एक आधुनिक खोप अर्थात इम्युनो ग्लोबुलिन कार्यक्रम सातै प्रदेशमा विस्तार गर्ने भएको छ । सरकार रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीति लिएर अघि बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब देशको सात वटै प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा विस्तार गर्न लागेको बताएको हो । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले तत्काल सात वटै प्रदेशबाट सेवा प्रदान गर्ने र आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यको आधारमा सबै जिल्लामा यस सेवालाई विस्तार गर्न आवश्यक व्यवस्था मिलाईने बताउनुभयो ।
प्रदेश नं. १ को कोशी अस्पताल, विराटनगर, प्रदेशनं. २ को जनकपुर प्रादेशिक अस्पताल,धनुषा र नारायणी अस्पताल, पर्सा, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा,भरतपुर अस्पताल,चितवन, गण्डकी प्रदेशकोपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा,लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल,बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल,सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पताल,धनगढी गरि सात प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रदान गर्न लागिएको मन्त्री खतिवडाले जानकारी समेत दिनुभयो ।