अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित
काबुल, ४ असोज (रासस÷एएनआई) – अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन् । मन्त्रालयले आइतबारदेखि लागु हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ । सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै सूचनामा उनीहरुलाई कुनै निर्देशन समेत नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ । शिक्षिकाहरुले आफुहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन् ।













