गुठी संस्थान कार्यालयको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत

गुठी संस्थान कार्यालयको भवन मौलिक शैलीमा पुनःनिर्माण गर्न सहमत
२०७७ फागुन १९ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ५ स्थित गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माणको लागि तयार पारिएको नक्सासम्बन्धी बुधबार सरोकारवालाहरुसँग बैठक बस्यो ।
बैठकले दरबार क्षेत्रमा अवस्थित गुठी संस्थान भक्तपुरको कि.नं. ७५४, क्षेत्रफल ०—८—३—० कित्ता जग्गाको पेश भएको नक्सा सम्बन्धमा साविक बमोजिम स्मारण संरक्षण हुने स्मारक शैली र स्वरुपअनुसार नक्सा पास प्रक्रियाको लागि अगाडि बढाउने निर्णय ग¥यो ।


पुरातत्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने तर्क गर्दै साबिक भवनमा रहेको मन्दिरको झण्डै एक तल्ला घटाइ नक्सा स्वीकृत गरेपछि नगरपालिकाले त्यसलाई अस्वीकार गर्दै आएको थियो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदामा निजी घरसरह उचाइ मापदण्ड कायम हुन नसक्ने भन्दै नगरपालिकाले पटक पटक उक्त नक्सा साविक बमोजिम परिमार्जन गरी ल्याउन पुरातत्व विभागमा पठाएको थियो । तर पुरातत्व विभागले सच्याउन नमानेपछि नगरपालिकाको अगुवाईमा बैठक बसी मौलिक शैलीमा साबिक बमोजिमको नक्सा पास अगाडि बढाउन सबै सरोकारवालाहरु सहमत भएको हो ।
बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सहर भएको हुँदा यहाँका सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार संवेदनशील विषय भएको बताउनुहुँदै प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरु पुनःनिर्माणमा जनताको राय—सुझाव र जनताकै सहभागितामा अगाडि बढाइरहेको बताउनुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मीले भन्नुभयो — ‘गुठी संस्थानको भवन स्मारक हो, निजी घर होइन । दरबार क्षेत्रमा सिलु महादेव बन्दैछ, त्यो पनि स्मारक हो । स्मारकमा उचाइ घटाउन उपयुक्त हुँदैन । पुरातत्व विभागमा स्पष्ट पारेर प्रस्ताविक नक्सा पास प्रक्रिया अगाडि बढाउन सहमत छु ।’
बैठकमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, गुठी संस्थान कार्यालयका प्रमुख आनन्दप्रसाद कर्माचार्य, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर नपा सम्पदा शाखा, नक्सा शाखा र योजना शाखाका प्रमुखहरुले प्राप्त ऐतिहासिक प्रमाणका आधारमा गुठी संस्थान कार्यालयको भवन पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।