नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पर्यटन व्यवसायी भेला

२०७६ पुस १३ गते, आइतबार
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर नगरपालिकाले आइतबार नपाको सभाकक्षमा भक्तपुरका पर्यटन व्यवसायीको भेला कार्यक्रम आयोजना ग¥यो ।
भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकाका ऐतिहासिक र सांस्कृतिक सहरहरुलाई आदर्श नगरको रुपमा विकास गर्नुपर्ने बताउनुहुँदै साझा सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
भक्तपुरको अर्थतन्त्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएको बताउनुहुँदै प्रमुख प्रजापतिले पर्यटन व्यवसायीहरुलाई पेटीमा सामान नराख्न र पर्यटकहरुसँग राम्रो व्यवहार गर्न अनुरोध गर्नुभयो ।


विदेशी संस्कृतिको प्रभाव नेपाली समाजमा पनि बढ्दै गएको छ भन्नुहुँदै भक्तपुर नगरपालिकाले यहाँको मौलिक वस्तु, संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम लागु गरिसकेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर पर्यटकहरुको लागि उपयुक्त र सुरक्षित गन्तव्यस्थल हो भन्ने सन्देश दिन र भक्तपुरको पर्यटन प्रवद्र्धनको लागि भक्तपुर महोत्सवको आयोजना गरेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले निजी र सरकारी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायलाई सफल बनाउन नेपाल भ्रमण वर्ष २०२० आयोजना भएको बताउनुभयो ।


भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेशराज शर्माले पर्यटन बोर्ड नेपालले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हुँदा पर्यटन सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटक सेवा तथा सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नपाले पुस १५ गते दिनको ३ः३० बजे दरबार क्षेत्रमा भेला भई ४ बजेटबाट सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्राको समुद्घाटन हुने र पुस १६ गते बिहान ७ः०० बजे दत्तात्रयबाट प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताउनुभयो ।