ठूला भ्रष्टाचारका मुद्दाहरुमा अख्तियारको सकृयता बढाउन टीआई नेपालको आग्रह

ठूला भ्रष्टाचारका मुद्दाहरुमा अख्तियारको सकृयता बढाउन टीआई नेपालको आग्रह

भक्तपुर, भाद्र २८ गते
ठूला भ्रष्टाचारका मुद्दाहरुमा अख्तियारको सकृयता बढाउन ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल (टीआई नेपाल)ले आग्रह गरेको छ । टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आईतबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरेका हुन ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल भ्रष्टाचारका विरुद्धमा निरन्तर खबरदारी गर्ने नागरिक संस्था रहेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्बन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखिएको समाचारले त्यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

संसदका विभिन्न चारवटा संसदीय समितिहरु, महालेखा परिक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पु¥याएको भन्ने प्रतिवेदन प्राप्त भएको अवस्थामा थप अनुसन्धान गरी दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अरब रुपैया भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता र ईमान्दारितामा मात्र होइन नियतमा पनि गम्भीर प्रश्नहरु उठेका छन् ।

निष्पक्षता र निर्भिकता पूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टिगर्न निकै गाह्रो पर्ने देखिन्छ विज्ञप्तिमा भनिएको छ । यसर्थ आयोगले आफ्नो साख जोगाउन पनि प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु अत्यावश्यक भैसकेको समेत जनाएको छ ।

यसै सन्दर्भमा आयोगले हालै तामेलीमा राखेको भनिएको आयल निगमको जग्गा खरिद प्रकरणको फाईल व्यँुत्याएर त्यसमा र हाल आयोगमा अनुसन्धानका क्रममा रहेका वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडि जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालिन मंत्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरुलाई अदालतको कठघरामा पु¥याओस भनी टि.आई. नेपाल जोडदार माग गर्दछ । विज्ञमिार्फत भनिएको छ ।