आज माघे सक्रान्तिमा सम्यक महादानको भव्य तयारी
भक्तपुर, पुस २९ गते
माघे सक्रान्तिका दिन सम्यक महादान पर्व भव्य रुपमा मनाउने तयारी पूरा भएको सम्यक महादान सहयोग समितिले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं १ स्थित थथु बहीमा आयोजना हुने सो महादान पर्वकालागि आवश्यक जोरजाम पूरा गरेको समितिका अध्यक्ष गणेश बज्राचार्यले जनाएको हो । यस वर्षको सम्यक महादान २ हजार जनालाई दिने आयोजक समितिको तयारी छ । गत वर्ष १७ सयलाई दिएको उल्लेख गर्दै आयोजक समितिले यस वर्ष २ हजारलाई दान गर्ने तयारी गरेको हो ।


भक्तपुर नगरका ५ बुद्धहरुलाई एक्कै ठाउँमा भेला गरी हामो जा नकेगु (तिलको भात खुवाउने) परम्परा अर्थात सम्यकदानलाई जीवन्त राख्दै सो समितिका पदाधिकारीहरुले सम्यकदानकालागि गहुँको विशेष लडु, स्वारी सहित अन्य विभिन्न ३० भन्दा बढी परिकार बनाएर तयारी पूरा गरेको जनाएको हो । जमिनबाट उब्जनी हुने सबै प्रकारका चिजहर सो अवसरमा दान गर्ने परम्परा रहेको समितिका सदस्य रविकिरण व्रजाचार्यले बताए । उहाँका अनुसार परापूर्वकालमा ८४ ब्यञ्जन दान गर्ने परम्परा रहे पनि अहिले ३२।३४ प्रकारका कृषि उपजहरु मात्र दान सकेको चर्चा गर्दै उहाँले यो पर्व आजभन्दा ३ सय वर्ष पहिला देखि चल्दै आएको बताए । सो पर्व मनाउकालागि आयोजक समितिको तर्फबाट बाजागाजा र परम्परागत पूजा सहित पञ्चबुद्धहरुलाई हिजै निम्तो दिइ सकेको छ । थथु वही, कुथु वही, साँकोठाको वही र क्वाथण्डौस्थित प्रशंनशिल विहारकाका पञ्च बुद्धहरुलाई आज दिउँसो १ बजेसम्म सम्यकदानकालागि स्वागत गर्दै थथु बही परिसरमा भेला गर्ने चलन छ । सोही भेलामा हामो जा अर्था तिल सहितको भात खुवाउने चलन रहेको छ भने सहभागि भक्तजनहरुलाई लडु,स्वारी सहित सम्यकदान गर्ने परम्परा रहेको सहयोग समितिका चिनीयाँकाजी बज्राचार्यले जनाएको छ ।
हरेक वर्ष सम्यक महादान गर्न हप्तौ देखि तयारी गर्दै आज सम्यक दान गर्ने चलन रहेको छ । काठमाण्डौमा १२ वर्षको एक पटक र ललितपुरमा प्रत्येक ५।५ वर्षमा हुने यो महादान भक्तपुरमा भने हरेक वर्ष माघे सक्रान्तिको दिन माघ १ गते हुदै आएको छ । यस पर्वलाई दिउँसो जनसञ्चार टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने छन् । सम्यकदानलाई भक्तपुर नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधी, एसएसपी किरण बज्राचार्यसहित अन्य विशिष्ट व्यक्तित्वहरुको पनि सहभागि रहेने आयोजकहरुले जनाएको छ ।














