भक्तपुरमा शुक्रबार ६ जना संक्रमित, देशभर ५९४ जना,
४ जनाको मृत्यु
काठमाण्डौ, श्रावण ३० गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ३९ वटा प्रयोगशालामा गरिएको कोरना भाइरस परिक्षणले थप ५९४मा संक्रमण पुष्टि गरेको छ । यसरी संक्रमित हुनेहरुमा भक्तपुरका ६ जना समेत रहेका छन् भने काठमाण्डौका ८३ जना र ललितपुरका ३० जना सहित ११९ जना सक्रिमित रहेका छन् । गत २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परिक्षण गर्दा ५९४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएको छ । यो संक्रमणसँगै देशभर कोरना संक्रमितको संख्या शुक्रवार साँझ सम्ममा २५ हजार ५५१ पुगेको छ भने निको हुनेको संख्या १७ हजार ७७ जना पुगेको छ । शुक्रवार एक्कै दिन कोराना मुक्त हुनेको संख्या २४० जना थियो । अहिले देशका विभिन्न क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् ।
शुक्रबार साँझसम्म उपत्यका बाहिर पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो । पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ ।














