कोरोना सङ्क्रमित १३ हजार नाग्यो , ललितपुरमा एक जनाको मृत्यु
काठमाडौं, असार १५ गते
गत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज हुनुभएको छ । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ८३४ जना पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २२ वटा प्रयोशालामा सात हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिनुभयो । एक हजार ८२२ जनाको आरडिटी परीक्षण गरिएको छ । तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेशनमा रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या १० हजार ८५ रहेको छ । त्यसैगरी २४ घण्टामा देशैभरि ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म एक हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष गरी जम्मा १३ हजार २४८ जना सङ्क्रमित भएका छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । प्रवक्ता गौतमले भन्नुभयो, “हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गर्नुभयो ।
ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु
ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।” ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताउनुभयो । ती व्यक्तिले काठमाडौँ आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि नौजनालाई हाल आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो । यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका नौ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्ने छ ।













