भक्तपुर नगरपालिकालाई ४ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

भक्तपुर, बैशाख १७ गते ।
भक्तपुर नगरपालिकालाई भक्तपुरका विभिन्न तीन वटा उद्योगी व्यवसायीसँंग सम्बन्धित संघसंस्थाहरुले राहत सामाग्री हस्तान्तरण गरेका छन् । युवा व्यवसायी समाज, भक्तपुर इटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघ भक्तपुरले संयुक्त रुपमा भक्तपुर नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको हो । पीपीई, स्यानिटाइजर, थर्मलगन लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरिएका हुन् । संघका प्रतिनिधीहरुले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई पीपीई सेट १०० सेट , स्यानेटाइजर ५ बोटल (ठूलो) ग्लोब ५ दबा, थर्मल गन ४ र स्प्रेग गन ३ वटा गरी ४ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।


भक्तपुर ईटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योंम्वा, युवा व्यवसाय समाजका उपाध्यक्ष नविन प्रजापति, ट्रक व्यवसायी संघ भक्तपुरका पूर्व अध्यक्ष महेन्द्र खायमलीलगायतले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संयुक्त रुपमा विभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
यस्तै स्वास्थ्य सामाग्रीहरु नगरपालिकाले महानगरीय प्रहरी परिसर भक्तपुर, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी चिकित्कसहरुलाई हस्तान्तरण गरिसकिएको जनाइएको छ ।
भक्तपुर नगरपालिकाद्धारा स्थापित विपद् व्यवस्थापन कोषमा जम्मा गरी ती स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । नेपाल सरकारको निर्णय अनुसार नगरपालिकाले यसअघि नै विपद् व्यवस्थापन कोष खडा गरेको थियो । लकडाउन पीडित वा सोसँंग सम्वन्धित पीडितहरुलाई सहयोग गर्न चाहने इच्छुकहरुले नेपाल सरकारकै निर्णय अनुसार आफूखुसी नदिई यो कोषमा जम्मा गरी मात्रै राहत वितरण गर्ने काम यहाँं हुँदै आएको छ । यही अनुसार कोषमा जम्मा गरी कोषमार्फत यी सामानहरु आवश्यकता अनुसार वितरण गरिदै आएका हुन् ।
देशव्यापी लकडाउनका कारण दैनिक जीवनपायनमा कठिनाई भएका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, अति विपन्न तथा असाहायहरुलाई राहत तथा आवश्यक सहयोग नगरपालिकाले एकद्धारा प्रणालीबाट व्यवस्था गर्न सरकारी निर्णय अनुसार नै नगरपालिकाले कोष खडा गरेको थियो । कोषमा सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थाहरुले नेपाल बैक लिमिटेड कमलविनायक भक्तपुर शाखाको खाता नं ०१९००१०६६३७८५८०००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । जिन्सी सहयोग गर्न चाहनेहरुले नगरपालिकाको कार्यालय व्यासी भक्तपुरमा उपलव्ध गराउन सकिने नगरपालिकाले सार्वजनिक आह्वान गर्दै आएको छ । नगरपालिकाले हालसम्म पहिलो चरणमा सहयोग वितरण गरिसकेको छ । हालसम्म दर्जनौं व्यक्ति, संघ, संस्थाहरुले सहयोग गरिरहेका छन् ।