ऋण व्यवस्थापन तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा ऋण व्यवस्थापन तालिम मिति २०७७ फागुन १४ गते सूर्यविनायक रिसोर्ट, घलाटें भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्दै संघले अन्तरलगानी, तालिम र अभियानलाई जोड दिई कार्यक्रमहरु गरेको कुरा बताउनु भयो । वहाँले अव्यवहारिक एक व्यक्ति एक सहकारी, सहकारी संस्था र संघ बिचको कारोबारमा लाग्ने व्याजकर लगाएतको कानुन संसोघनको लागि संघले पहल गरेको कुरा बताउदै यस विषयमा केन्द्रिय संघ र राष्ट्रिय सहकारी महासंघले ठोस पहल गर्नुपर्ने विचार राख्नु भयो ।
संघका उपाध्यक्ष हरि बल्लले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु हो । ऋण लगानी गरेका रकम समयमै सावाँ व्याज फिर्ता भएन भन्ने संस्था संचालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने भएकोले संस्थाले ऋण लगानीमा विशेष ध्यान पु¥याउनुपर्ने विचार राख्नु भयो । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने कुरा बताउनुभयो ।

संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवद्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाको प्रभावकारी ऋण लगानी कार्यमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको कुरा बताउदै संघले विना धित्तो ऋण अन्र्तगत बढीमा संस्थाको वासलातको ५ प्रतिशत वा ६० लाखसम्म ऋण लगानीका सिमा बढाएको कुरा बताउनुभयो । संघका वित्तीय सेवा प्रवर्दन उपसमितिका सदस्य राजकुमार लघुले ऋण व्यवस्थापन तालिमबाट सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल वित्तीय बजारमा व्याजदर न्यून रहेको अवस्थामा बढी लागतको बचत स्विकार नगर्न सुझाव दिर्दै तरलता एंवम ऋण लगानी योग्य रकमको अभाव भएमा संघले ८ प्रतिशतको विशेष ऋण संचालनमा ल्याएको कुरा बताउनु भयो ।
मिति २०७७ फागुन १३ र १४ गते गरी दुई दिन सम्म संचालन भएको सो तालिमको सहजिकरण संघका व्यवस्थापक, सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री र सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक कविन्द्र धौबन्जारले गर्नुभयो । तालिममा संघका सदस्य संस्थाहरुबाट ३५ जनाको सहभागी रह्यो ।













