गणेशको जन्मउत्सवमा नवदुर्गाको नाँच प्रशिक्षण, नेवार समुदाय चोथा पर्व मनाउँदै
भक्तपुर, भाद्र ५गते
गणेशको जन्मउत्सवमा अर्थात गणेश चतुर्थीको दिन आज देखि नवदुर्गा गणको नाँच प्रशिक्षण सुरु भएको छ । वर्षदिनमा ८ महिना मुकुण्डो लगाएर र बाँकी४ महिना मुकुण्डो बिना जात्रा पर्व चलाउने नवदुर्गा गणले यस वर्षको नवदुर्गा नाँच प्रदर्शनीको लागि आजबाट नाँच प्रशिक्षण सुरु गरेकोे हो । कोरना भाइरस संक्रमणको जोखिमका कारण सिमित व्यक्तिहरु मात्रै भक्तपुर नगरपालिका वडा नम्वर ८ स्थित नासद्यःमा पुगेर परम्परागत पूजा गरी नाँच प्रशिक्षण प्रारम्भ गरेको नवदुर्गा गण जात्रा व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाले बताएको छ ।
सल्लाहकार बनमालाका अनुसार कोरोना भाइरसको जोखिम व्यवस्थापनका लागि सामाजिक दुरी कायम गरी आज साँझ सिमित व्यक्तिहरु सहभागि भएर नासद्यःस्थानमा प्रशिक्षण नाँच पनि प्रस्तुत गरी जनाएको छ । आज गणेश चतुर्थीको दिन पारेर ऐतिहासिक नवदुर्गा गणको नाँच प्रशिक्षण प्रारम्भ गरेको हो । आजको दिन साँझ चन्द्रमाको पूजा गरी चोथा पर्व मनाउने नेवार समुदायको परम्परा पनि रहेको छ । गणेश चतुर्थी पर्वसँगै इन्द्र जात्रा पनि प्रारम्भ हुने मान्यता रहेको उहाँले जनाएको छ । गणेशको जन्मदिनको रुपमा हर्सोल्लासका साथ गणेश मन्दिरमा भूजापाठ गर्ने यो दिनमा कोरोना भाइरस संक्रमणको जोखिमका कारण गणेश मन्दिरहरुमा मेला लागेको थिएन । यद्यपी घर घरमा नै गणेशको पूजा गरी गणेश चतुर्थी पर्व मनाएका छन् । नवदुर्गा गणले नाँच प्रशिक्षण प्रारम्भ गरी चोथा पर्व मनाएसँगै आज साँझ नेवारसमुदायले पनि चोथा पर्व मनाउने गर्दछन् । चोथा पर्व बनाउन आज साँझ सूर्य अस्ताएसँगै घरको कौसिमा पुगेर उदाएको चन्द्रमालाई पूजा गरी गेडागुडी भुटेर प्रसाद खाने प्रचलन रहेको छ ।














