
सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश गर्ने हेतुले संविधान संशोधन गर्न लागेको हो । सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेले आइतबार प्रतिनिधिसभा समक्ष उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशित गर्नु पर्ने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद् सचिवालयले पनि उक्त संशोधन विधेयक सर्वसाधारणको जानकारीका लागि गोरखापत्र दैनिक, रेडियो नेपाल र नेपाल टेलिभिजनमासमेत सूचना प्रकाशन र प्रसारण गरेको छ । संविधान संशोधनसम्बन्धी विधेयक सदनमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिकरुपमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।












