सम्पदा क्षेत्रमा बारुद र पटाका पड्काउने गतिविधि चिन्ताजनक : नेमकिपा सचिव सुवाल
भक्तपुर, कात्तिक २८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवालले सम्पदा क्षेत्र, मन्दिर परिसर र सार्वजनिक चोकहरूमा बारुद तथा पटाका पड्काउने गतिविधि बढ्दै जानु चिन्ताजनक भएको बताउनुभएको छ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ, भक्तपुर नगरपालिका वडा नं. ५ वडा समितिको आयोजनामा आज (शनिबार) त्रिपुरासुन्दरीमा आयोजित बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव सुवालले ऐतिहासिक सम्पदाको सुरक्षाप्रति सचेत रहन आग्रह गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो:
“हाम्रो सम्पदा केवल ढुङ्गा र इँटाले बनेका संरचना होइनन्, यी हाम्रा पुर्खाको इतिहास, पहिचान र अमूल्य धरोहर हुन्। तर पछिल्लो समय सम्पदा क्षेत्र, मन्दिर परिसर तथा सार्वजनिक चोकहरूमा बारुद र पटाका पड्काउने गतिविधि बढ्नु चिन्ताजनक विषय हो। यस्ता गतिविधिले आगलागी, चोटपटक तथा ठूलो दुर्घटना निम्त्याउन सक्छन्। साथै ऐतिहासिक सम्पदामा समेत क्षति पुग्न सक्छ।”
शैक्षिक सत्र २०८२/८३ मा भक्तपुर नगरपालिका वडा नं. ५ बाट एसईई (SEE), एसएलसी (SLC), स्नातक (Bachelor) तथा स्नातकोत्तर (Master’s Degree) तह उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो।













