विवादित न्यायाधीशहरूमाथि निष्पक्ष छानबिन गर्न र इजलासबाट अलग रहन टीआई नेपालको माग
जनसञ्चार समाचारदाता
काठमाडौँ, १६ कात्तिक
सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरूको बिचौलियाहरूसँग साँठगाँठ रहेको भन्ने सञ्चारमाध्यममा आएका समाचारहरूप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार टीआई नेपालका उपाध्यक्ष सरोज प्रसाद पाण्डेद्वारा जारी प्रेस वक्तव्यमा अदालतमा उठेका यस्ता विषयमा सम्बन्धित न्यायाधीशहरूले दिएका सार्वजनिक स्पष्टीकरण मात्र पर्याप्त नहुने भन्दै निष्पक्ष छानबिन र न्याय सम्पादनबाट अलग रहन माग गरिएको छ।
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित कुनै पनि पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिहरूसँग भेटघाट वा सम्पर्क गर्नु संवैधानिक, कानुनी तथा व्यावसायिक आचारसंहिताको गम्भीर उल्लङ्घन भएको टीआई नेपालको ठहर छ।
“न्याय सम्पादन गर्ने न्यायमूर्तिबाट उच्चतम सदाचारको अपेक्षा गरिन्छ,” वक्तव्यमा भनिएको छ, “विवादमा तानिएका र सार्वजनिक स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्च सदाचार प्रदर्शन गर्दै उठेका प्रश्नहरूको अन्तिम टुङ्गो नलागेसम्म न्याय सम्पादन (इजलास) को कार्यबाट अलग रहनु नै उचित देखिन्छ।”
प्रजातान्त्रिक प्रणालीमा न्यायालयको स्वतन्त्रता र कार्य प्रभावकारिता हेर्ने अन्तिम निकाय संसद् नै भएको उल्लेख गर्दै टीआई नेपालले यस विषयको गाम्भीर्यलाई दृष्टिगत गरी ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान अघि बढाउन आह्वान गरेको छ। साथै, अनुसन्धानको दायरामा सम्बन्धित न्यायाधीशहरूको सम्पत्ति छानबिनलाई समेत समावेश गर्न जोडदार माग गरिएको छ।














