अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।

अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
भक्तपुर, असोज ९ गते ।
विगत केही समयदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका स्थानीय खोलानालामा बाढी आउनुका साथै विभिन्न स्थानमा सडक भासिएको र पहिरो गएका छन्। जसका कारण जिल्लाका प्रमुख तथा सहायक सडक मार्गहरूमा सवारी आवागमन प्रभावित भएको थियो।
मध्यपुर थिमीको बोडेबाट कागेश्वरी जोड्ने मनोहरा नदीको बोडेतर्फ रहेको पुल छेउको स्पर (तटबन्ध) बाढीले भत्काउनुका साथै सडक नै भासिएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक भासिएकाले सम्भावित दुर्घटना रोक्न प्रहरी तथा स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।
त्यस्तै, पिखेलबाट चाँगुनारायण जाने सडक खण्डमा खास्याङखुसुङ खोलाको पानी सडकमा पसेर कटान गरेपछि केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो। हाल खोलाको पानीको निकास खोल्ने र कटान नियन्त्रण गर्ने कार्य भएको छ।
चाँगुनारायणन नगरपालिका वडा नं. ९स्थित ताथलीबाट नाला जाने बाटोमा भने पहिरो जाँदा केही समय बाटो बन्द भएको थियो। तर, स्थानीय निकाय र सुरक्षाकर्मीको तत्परतामा पहिरो पन्छ्याएर उक्त सडकमा पुनः सवारी आवागमन सञ्चालनमा ल्याइएको छ।
वर्षाको जोखिम अझै कायम रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका सडकमा यात्रा गर्दा उच्च सावधानी अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ।