जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
सत्यराम कासिछ्वा
भक्तपुर, भदौ ५। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा (सापारु २०८३) को अवसरमा शुक्रबार भक्तपुर दरबार स्क्वायर क्षेत्रमा कलेज तथा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेश सांसद तथा नेमकिपाका केन्द्रीय समितिका सदस्य सिर्जना सैंजूले विद्यार्थीहरू कक्षाकोठाको सिकाइमा मात्र सिमित नभई समाज, परिवार तथा समुदाय तथा विभिन्न संघसंस्थाबाट पनि सिक्न सकिने बताउँदै समाज भएको अपराध, अभाव, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको करले निम्तिएको समस्याको नकारात्मक पक्षलाई व्यंग्यको माध्यमबाट समाज सभ्य र सुसंस्कृत बनाउन विद्यार्थीहरूले विध्वंसमा नलागी नयाँ सिर्जना गर्नुपर्ने बताउनुभयो ।




नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइले असफलताबाट विद्यार्थीले सिक्न जरुरी रहेको बताउँदै हजारौं शब्दले प्रष्ट पार्नुपर्ने विषयलाई साररुपमा व्यंग्य चित्रबाट अर्थसहितको प्रहार र हाँसोले व्यंग्य र उत्सुकता जगाउने बताउनुभयो । उहाँले समाजको विकृति विसंगति प्रति व्यंग्य गर्दा लैङ्गिक, जातीय विभेद प्रति सचेत हुनुपर्ने बताउँदै नचाहिदो कुरालाई रोक्ने र राम्रो काम गर्नेलाई उत्साहित गर्न प्रेरित गर्नुपर्ने पक्षमा जोड दिनुभयो । प्रतियोगिताका निर्णायक बालकृष्ण बनामालाले समाजमा घटिरहेको सामाजिक आर्थिक, राजनीतिक व्यंग्यात्मक रूपमा उदाङ्ग्याउने मुख्य उद्देश्य कार्टुनको हुने बताउनुभयो । कार्यक्रमका सभापति तथा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले मानव सभ्यताको विकाससँगै समाजका विकृति र विसंगति, अस्थिर राजनीतिको विध्वंसलाई कार्टुनमा व्यक्त गरेको बताउनुभयो । प्रतियोगिताको आधारभूत तहमा एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय तथा हिमालयन ग्लोरी ईङ्गलिस सेकेन्डरी स्कुलका अनुष खर्बुजा र एभरेस्ट ईङ्गलिस स्कुलका उत्कर्ष मल्ल ठकुरी संयुक्तरूपमा सान्त्वना भएका थिए । प्रतियोगिताको माध्यमिक तहमा एजे सेकेन्डरी स्कुलका स्पर्श लामा प्रथम, विद्यार्थी निकेतन माविका प्रशिष घेमोसु द्वितीय, ख्वप इन्जिनियरिङ कलेजका रिजन प्रजापति तृतीय तथा बागिश्वरी माविका क्यारोलिन र प्राइम एकेडेमीका उत्कर्ष पान श्रेष्ठ संयुक्तरूपमा सान्त्वना भएका थिए । प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, शैक्षिक तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गरिएको छ । प्रतियोगितामा भक्तपुर जिल्लाका २२० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।












