बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी    गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)

बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी    गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौः डा. देवेन्द्र आचार्यका मानव मनको गहिराइ, सम्बन्धको जटिलता र विरहको मौन मनोविज्ञानका जीवन्त दस्तावेज बोकेको गजल  ‘म तिम्रै यादमा’ सार्वजनिक भएको छ । बबिना भट्टराईको स्वर तथा संगीत  रहेको गजल ‘म तिम्रै यादमा’ बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको गजल ‘म तिम्रै यादमा’ को एरेन्ज तथा मास्टरिङ किरण कँडेल ले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ किरण तण्डुकारले गरेका हुन् । भिडियो निर्देशन केशव भट्टले गरेका छन् भने सम्पादन मीन रावलको रहेको छ ।

म तिम्र्रै यादमा जिउँदैछु
तिमीलाई सम्झेर आँसु पिउँदैछु

मनकै छुराले रेटिदियौ
मनकै कुराले म सिउदैछु ।

चिसो पछ्यौरी ओढाइदियौ,
तिमी न्यानो भइ गयौ म हिउँदै छु ….

डा. देवेन्द्र आचार्यका यी शेरहरू प्रेमको सामान्य अभिव्यक्ति मात्र होइनन् यी शेरहरु मानव मनको गहिराइ, सम्बन्धको जटिलता र विरहको मौन मनोविज्ञानका जीवन्त दस्तावेज हुन् ।  थोरै शब्दमा धेरै अर्थ भन्न सक्ने गजलको विशेषता डा. देवेन्द्र आचार्यले अत्यन्त प्रभावकारी रूपमा प्रकट गरेका छन् ।
गजलका यी शेरहरूमा प्रयोग भएका शब्दहरू आफ्नो सामान्य अर्थभन्दा धेरै टाढासम्म पुग्छन्। ‘याद’ केवल सम्झना होइन, जीवन धान्ने अन्तिम सहारा पनि हो । आँसु पिउनु  भनेको पीडालाई संसारसामु पोख्न नसकी आफ्नै अन्तरमनमा दबाएर बाँच्नु हो, यसर्थ गजलको यो शेर मौन सहनशीलताको प्रतीक हो ।
फलामको ‘छुरा’ भौतिक हुन्छ । त्यसको धार देख्न सकिन्छ, छुन सकिन्छ र त्यसले शरीरमा बनाएको घाउ पनि देख्न सकिन्छ । त्यो घाउ समयसँगै निको हुन्छ, त्यसको उपचार सम्भव हुन्छ र त्यसले छोडेको पीडा पनि क्रमशः कम हुँदै जान्छ । त्यसले मानिसको शरीरलाई मात्र चोट पुर्‍याउँछ  तर मनको ‘छुरा’ अदृश्य हुन्छ । त्यसको कुनै आकार हुँदैन तर त्यसको धार अत्यन्त तीखो हुन्छ । यो ‘छुरा’ प्रिय व्यक्तिका शब्द, मौनता, बेवास्ता, विश्वासघात, उपेक्षा वा टुटेको विश्वासका रूपमा प्रहार गर्छ । यसले रगत बगाउँदैन तर आँखाबाट आँसुको सागर उर्लाउँछ, यसले छाला चिर्दैन तर गर्विलो र दर्विलो आत्मविश्वास र सपनाहरूलाई क्षणभरमा चिरिदिन्छ ।
अनि फलामको छुराले लागेको घाउ अरूले देख्न सक्छन्, त्यसैले सहानुभूति पनि पाउन सकिन्छ, तर मनको छुराले बनाएको घाउ कसैले देख्दैन, कसैले बुझ्दैन पनि । बाहिरबाट मानिस सामान्य देखिए पनि भित्र ऊ चर्को पीडामा बाँचिरहेको हुन्छ, यही कारण मनको घाउ शरीरको घाउभन्दा गहिरो र लामो समयसम्म रहिरहन्छ । फलामको छुरा प्रायः हिंसा, आक्रमण वा शारीरिक विनाशको प्रतीक हो भने मनको छुरा प्रेम, विरह, विश्वासघात, उपेक्षा र भावनात्मक विघटनको प्रतीक हो । डा. देवेन्द्र आचार्यको शेरले यो गहिरो भाव उजागर गरेको छ ।
यसैले फलामको छुरा शरीरको मृत्युको संकेत हुन सक्छ, तर मनको छुरा सम्बन्धको मृत्यु र भावनाको विघटनको संकेत हो । फलामको छुराले जीवन समाप्त गर्न सक्छ; मनको छुराले भने जीवन बाँकी रहँदा पनि मानिसभित्रको आनन्द, भरोसा र उत्साहलाई विस्तारै समाप्त गरिदिन्छ, यही सूक्ष्म तर गहिरो भिन्नताले मनको छुरा लाई यस गजलमा अत्यन्त शक्तिशाली प्रतीक बनाएको छ ।
‘सिउनु’ ले घाउ निको पार्नु मात्र जनाउँदैन, भत्किएको आत्मविश्वास, चुँडिएको विश्वास र विखण्डित भावनालाई फेरि जोड्ने संघर्षलाई पनि जनाउँछ । उनले मनको छुराले क्षतविक्षत बनाएकी मनलाई  आफ्नै मनले सिउने कोशिष गर्दैछन् ।
गजलका डा. देवेन्द्र आचार्यका गजलका यी शेरहरू पढ्दा दृश्य आफैँ आँखा अगाडि उभिन्छ । एक जना प्रेमी रातभर एक्लै बसेर सम्झनामा डुबिरहेको छ । उसका आँखा रसाएका छन्, तर ऊ आफ्नो पीडा कसैलाई सुनाउँदैन । त्यसपछि प्रियाका शब्दहरूले दिएको घाउले छातीभित्र रगतको खोला बगाइरहेको छ र अन्त्यमा ऊ चिसो हावामा एक्लै उभिएको छ, जबकि प्रिय व्यक्तिको जीवनमा भने फेरि न्यानोपन फर्किएको छ । यही दृश्यात्मक शक्ति नै यी शेरहरूकोसौन्दर्य हो ।
गजलको सौन्दर्यलाई झन् बलियो बनाउने पक्ष भनेको विरोधाभास हो । एकातिर ‘तिमी न्यानो भयौ’ अर्कोतिर ‘म हिउँदै छु’ यी दुई अवस्थाबीचको दूरीले नै सम्पूर्ण विरहको कथा बोल्छ । यस गजलमा दर्शक तथा श्रोतले केवल प्रेमको विछोड मात्र अनुभव गर्दैन उसले एउटा मौन, थकित र एक्लिएको आत्माको पीडा महसुस गर्दछ । पहिलो चरणमा व्यक्ति सम्बन्ध समाप्त भए पनि मानसिक रूपमा त्यही सम्बन्धभित्र बाँचेको हुन्छ। त्यसैले ऊ भन्छ ‘म तिम्रै यादमा जिउँदैछु’ दोस्रो चरणमा उसले आफ्नो पीडाको कारण खोज्छ। उसलाई थाहा हुन्छ कि सबैभन्दा गहिरो चोट आफ्नै प्रियाबाट लागेको हो । उनले मनकै छुराले रेटेकी हुन् तर ऊ प्रतिशोध लिँदैन बरु आफ्नै मनलाई सम्झाएर आफूलाई सम्हाल्ने प्रयास गर्छ,  आफूे अझै त्यही पुरानो सम्झनाको चिसो मौसममै अड्किएको छ ।‘म हिउँदै छु’ यही स्वीकारोक्ति सबैभन्दा पीडादायी छ र अन्ततः याद हरूले मानिसलाई धेरै समयसम्म जीवित पनि राख्न सक्छन् र विस्तारै गलाउँदै पनि लैजान पनि सक्छन् ।
डा. देवेन्द्र आचार्यका यी शेरहरू पढ्दा लाग्छ विरह भनेको केवल छुट्टिनु होइन त्यो आफूभित्र बाँचिरहेको अर्को व्यक्तिसँग दिनहुँ भेटिरहनु पनि हो । प्रेममा सबैभन्दा ठूलो चिच्याहट आवाजले होइन, मौनताले गछर् । यही मौनता यी शेरहरूको सबैभन्दा ठूलो शक्ति हो । डा. देवेन्द्र आचार्यले अत्यन्त सरल शब्दहरूमा प्रेमिल मनको भावनात्मक संसारको गहिरो सत्य उद्घाटन गरेका छन् ।  बबिना भट्टराईको मधुर स्वर र संवेदनशील संगीतले यी शब्दहरूलाई केवल गजलमा सीमित नराखी प्रेमको विछोडामा यादमा बाँचेका श्रोताको आफ्नै जीवनको अनुभवजस्तै अनुभूत गराउने सामथ्र्य प्रदान गरेको छ ।
यी शेरहरूको विशेषता यही हो कि जसले कहिल्यै प्रेममा विरह भोगेको छैन, उसले पनि यी शब्दहरूमा आफ्नो कुनै न कुनै विछोड, कुनै अधुरो सम्बन्ध वा कुनै मौन पीडाको प्रतिबिम्ब देख्न सक्छ । यही सार्वभौमिकता  गजल म तिम्रै यादमा को उत्कृष्ट पहिचान हो ।
डा. देवेन्द्र आचार्यका शब्दहरूमा प्रेम, विरह, मौन पीडा र आत्मसंवादको गहिरो भाव छ । यी शब्दहरू आफैंमा शक्तिशाली छन् तर गजल तब पूर्ण कलामा रूपान्तरण हुन्छ जब त्यसले उपयुक्त स्वर, संगीत र प्रस्तुतिको साथ पाउँछ । बबिना भट्टराईले यही रूपान्तरणलाई अत्यन्त संवेदनशील ढंगले सम्पन्न गरेकी छिन् ।
उनले भरेकी संगीत केवल धुन होइन शब्दभित्र लुकेको भावनाको स्पन्दन बनेको छ गजलमा,  प्रत्येक आरोह,अवरोह, प्रत्येक विराम र प्रत्येक लयले गजलका शब्दसँग संवाद गरिरहेको अनुभूति हुन्छ । संगीतले शब्दलाई छोपेको छैन बरु शब्दको पीडालाई अझ स्पष्ट, अझ जीवन्त र अझ अनुभूतियोग्य बनाएको छ । बबिना भट्टराईको स्वर र संगीतले गजल ‘म तिम्रै यादमा’ मा  श्रोताले धुन मात्र सुन्दैनन्, शब्दभित्रको मौन संवेदनालाई पनि महसुस गर्छन् ।
त्यसैगरी गजल ‘म तिम्रै यादमा’ मा बबिना भट्टराईको स्वरमा केवल मधुरता मात्र छैन अनुभूतिको सत्यता पनि छ । कुनै पनि गजलमा स्वरको सुन्दरता मात्र पर्याप्त हुँदैन; गायक वा गायिकाले शब्दको आत्मासम्म पुग्न सक्नुपर्छ । यहाँ उनको स्वरले शब्द उच्चारण मात्र गरेका छैनन् प्रत्येक हरफको पीडा, प्रतीक्षा, एक्लोपन र सम्झनालाई आफ्नै हृदयबाट बगाएर श्रोतासम्म पुर्‍याएको छ । । त्यसैले गजल ‘म तिम्रै यादमा’ सुन्दा लाग्छ यो केवल गाइएको वाक्य होइन, कसैको बाँचेको जीवनको स्वीकारोक्ति पनि हो । ‘मनकै छुराले रेटिदियौ’ भन्ने हरफमा स्वरले चोटको गहिराइलाई स्पर्श गर्छ भने ‘म हिउँदै छु’ भन्ने ठाउँमा स्वर आफैं चिसो विरहको श्वासझैँ बगेको छ ।
गजल ‘म तिम्रै यादमा’ अर्को उल्लेखनीय पक्ष यसको भिडियो प्रस्तुति हो । बबिना भट्टराई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोमा उनको अभिनय पनि शब्द, संगीत र स्वरको भावसँग समानान्तर रूपमा बगिरहेको देखिन्छ । उनका अनुहारका सूक्ष्म भाव, आँखाको भाषा, मौन अभिव्यक्ति र देहभाषाले गजलको अर्थलाई दृश्यात्मक विस्तार दिएका छन् । धेरै पटक शब्दले भन्न नसकेको कुरा एउटा दृष्टिले भनिदिन्छ र स्वरले व्यक्त गर्न नसकेको पीडालाई एउटा मौनताले पूर्ण बनाइदिन्छ । यही कारण भिडियो हेर्दा दर्शकले गीत मात्र सुन्दैनन् गजलभित्रको कथा पनि देख्दछन् ।

संगीतशास्त्रको दृष्टिले उत्कृष्ट प्रस्तुति त्यही मानिन्छ, जहाँ शब्द, संगीत, स्वर र अभिनय चारवटै तत्व एक-अर्कासँग प्रतिस्पर्धा गर्दैनन् बरु एक-अर्कालाई उचाल्छन् । यस गजलमा पनि त्यही सामञ्जस्य अनुभव गर्न सकिन्छ । शब्दले भाव जन्माउँछन्, संगीतले त्यसलाई गति दिन्छ, स्वरले त्यसमा प्राण भर्छ र अभिनयले त्यसलाई दृश्य अनुभूतिमा रूपान्तरण गर्छ ।य बबिना भट्टराईको स्वर, संगीत र भिडियोमा गरेकी मेहनतले यो गजल सुन्ने वा हेर्ने सामग्री मात्र होइन प्रेम, विरह र मानवीय संवेदनाको एउटा समग्र कलात्मक अनुभव बनेको छ ।  डा. देवेन्द्र आचार्यका शब्दहरूले मनभित्र प्रश्नहरू जन्माउँछन् भने बबिना भट्टराईको संगीत, स्वर र अभिनयले ती प्रश्नहरूको उत्तर शब्दले होइन, अनुभूतिले दिएको छ,  यही कलात्मक एकात्मताले यस गजललाई केवल श्रव्य सिर्जना होइन हृदयमा लामो समयसम्म प्रतिध्वनित भइरहने भावनात्मक यात्रा बनाएको छ ।