इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी

इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
भक्तपुर,
गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक वचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. ०८३/०८४ काे लागि याेजना तर्जुमा गाेष्ठी सफलतापूर्वक सम्पन्न गरेकाे छ । संस्थाकाे आफ्नै सभाकक्षमा आयाेजित उक्त गाेष्ठीमा उपाध्यक्ष सुनिल गाेठेले आ.व. ०८२/०८३ काे आर्थिक विवरण र आ.व. ०८३/८४ काे अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुहुँदै नयाँ आर्थिक वर्षमा मुख्य कार्यक्रमहरूमा ७ वटा कार्यक्रम उपसमितिहरूले गर्ने र ३ वटा अन्य संस्थाहरूसँग समन्वयमा गरिने याेजना रहेकाे बताउनुभयाे । त्यसैगरी संस्थाका शिक्षा उपसमितिका संयाेजक पुरूषाेत्तम कपाली, महिला उपसमितिका संयाेजक लुमा श्रेष्ठ, बचत तथा सेवा प्रवर्द्धन उपसमितिका संयाेजक सीता सुलु र युवा खेलकुद तथा साँस्कृतिक उपसमितिका संयाेजक प्रभाकर बज्राचार्यले चालु आ.व.मा आ-आफ्नाे उपसमितिबाट भएगरेका विविध गतिविधिहरूमाथि प्रकाश पार्दै नयाँ आ.व. ०८३/०८४ काे लागि प्रस्तावित भावी याेजनाहरू प्रस्तुत गर्नुभयाे ।


कार्यक्रम विशेष अतिथि संस्था सदस्य तथा बाग्मति प्रदेश सभासद भुवनकेशरी श्रेष्ठले उपसमितिहरू संस्थाकाे मेरूदण्ड भएकाेले संस्थाकाे विकासमा यसकाे महत्वपूर्ण भूमिका रहने बताउनुभयाे । त्यसैगरी अतिथि संस्थाका सल्लाहकार सरस्वति बाटीले व्यवसाय प्रवर्द्धनमा भएगरेका गतिविधिहरू प्रशंसायाेग्य भएकाे चर्चा गर्नुहुँदै संस्थाका सदस्यहरू उत्पादित वस्तुहरूकाे वजार प्रवर्द्धनमा विशेष ध्यान पुर्याउनु पर्ने, अन्य भन्दा सुपथ मूल्यमा सदस्य र गैर सदस्यहरूलाई विक्री गर्नुपर्नेमा जाेड दिनुभयाे । मन्तव्यकै क्रममा अतिथि संस्थाका अर्का सल्लाहकार राजुराम मुनंकर्मीले उपसमितिहरू प्रभावकारी रूपमा सञ्चालन भएमा संस्थाले गति लिने चर्चा गर्नुहुँदै वर्तमान परिस्थितिमा सम्भाव्य, नाैलाे, कम तर स्तरीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे । त्यस्तै लेखा समितिका संयाेजक त्रैलाेक्यमान बनेपालीले सब‌ै सहकारी संस्थाहरू समस्याग्रस्त भन्ने भाष्य गलत रहेकाे चर्चा गर्नुहुँदै यस संस्था गत वर्षकाे उत्कृष्ठ सहकारी संस्थाकाे प्रमाणले सबै शेयर सदस्यहरूमा कुनै भ्रम नरहेकाे स्पष्ट पार्नुभयाे ।
उक्त कार्यक्रममा अन्य सहभागीहरूले
ऋण असुलिमा समस्या देखिएमा संस्था र शेयर सदस्यहरूकाे हितलाई सर्वाेपरि मान्दै उचित व्यवस्थापन तथा आवश्यक प्रक्रियालाई अगाडि बढाउन ढिलाई गर्नु नहुने सुझाव प्रस्तुत गर्नुभयाे ।
कार्यक्रमकाे अन्तमा संस्थाका अध्यक्ष कृष्णराम पाेतामाहाले गाेष्ठीमा अभिव्यक्त गरिएका विचार र सुझावहरूलाई मनन गर्दै कार्यान्वयन तहमा लगिने बताउनुहुँदै धन्यबाद सहित कार्यक्रमकाे समापन गर्नुभयाे ।