नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
भक्तपुर, जेष्ठ २० गते
भक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका क्रियाशिल पत्रकारहरुको तर्फबाट आज प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सामूहिक परिचयका साथ उहाँलाई स्वागत गरेका हुन । धनकुटा जिल्लाबाट हालै भक्तपुर सरुवा हुनु भएका प्रजिअ खड्काको कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै सहभागि पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा र जनजीविकाका सवालहरुमा पत्रकार र प्रशासन सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
वर्षातको समय आएसँगै जिल्लामा हुन सक्ने विपद् प्रतिकार्यमा ध्यान आवश्यक भएको चर्चासँगै जिल्लाका विभिन्न ठाउँमा सञ्चालित अव्यवस्थित र अनियमितरुपमा प्लट्रिकका कारण विपद्जन्य घटनाको जोखिम बढेको, अनियमितरुपमा माटो डोहन भएको, ऐतिहासिक चाँगुनारायण मन्दिर समेत जोखिममा पर्ने गरी बालुवा चोरीका घटना बढेको तथा जिल्लामा लागु औषधको दुव्यर्षनी बढेकालाई यसको नियन्त्रणप्रति ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा नवनियुक्त प्रजिअ खड्काले आफूले बिगत २८ औं वर्षदेखि विभिन्न जिल्लामा पुगेर प्रशासनिक जिम्मेबारी निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले सानो जिल्ला भक्तपुरको शान्ति सुरक्षाका कार्यहरुमा जिल्लाका पत्रकारहरुसँग सहकार्यले थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा भक्तपुरका प्रहरी प्रमुख सूर्यबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य सहित अन्य सुरक्षा निकायका अधिकृत सहतिको सहभागिता थियो ।













