दायित्व वाङ्मय प्रतिष्ठानको २७ औँ वार्षिकोत्सव सम्पन्न

दायित्व वाङ्मय प्रतिष्ठानको २७ औँ वार्षिकोत्सव सम्पन्न

दायित्व वाङ्गमय प्रतिष्ठान, नेपालको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा नेपाली साहित्यमा विशेष योगदान पु¥याउने स्रष्टाहरू तथा सामाजिक, धार्मिक एवम् मानवीय सेवामा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिनुका साथै कृतिहरू लोकार्पण गरियो ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व राजदूत तथा विद्वान् प्रा.डा.जयराज आचार्यले विभिन्न १० व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा दायित्व वाङ्गमय विशिष्ट सम्मान पवन आलोक तथा डा.रामप्रसाद दाहाललाई, दायित्व वाङ्गमय सम्मान प्रा. माधव घिमिरे तथा नारायण ज्ञवालीलाई, विद्वच्छिरोमणि हेमराज पुरस्कार प्रा.नीलमणि ढुङ्गानालाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार निःसहाय सेवा सदनलाई, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार माधव काफ्लेलाई, दायित्व सीता पन्त स्रष्टा पुरस्कार निर्मलरमण पराजुलीलाई र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार सरस्वती चौलागाईंलाई (२०८२) तथा गार्गी चौलागाईंलाई (२०८३) अर्पण गरिएको थियो ।
विद्वच्छिरोमणि हेमराज पुरस्कारको नगदराशि रु. २५ हजार, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कारको नगदराशि रु. २० हजार, हरिकला–गुणाकर दायित्व रचना पुरस्कारको नगदराशि रु. १५ हजार, दायित्व सीता पन्त स्रष्टा पुरस्कारको नगदराशि रु. १५ हजार तथा दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारको नगदराशि रु १५ हजार रहेको कुरा प्रतिष्ठानबाट अवगत हुन आएको छ ।
प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.जयराज आचार्यले कवि र कविताको प्रसङ्गमा अमेरिकाको एउटा कथा सुनाउँदै अमेरिकालाई कविता बुझ्न २०० वर्ष लागेको बताउनुभयो । सोही प्रसङ्गमा उहाँले कुनै पनि राष्ट्र समृद्ध हुनका लागि उद्योग, व्यापार र आर्थिक क्षेत्र मात्र समृद्ध भएर पुग्दैन, साहित्य कला र संस्कृति पनि समृद्ध हुनुपर्छ भन्दै कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुने सबैलाई बधाई दिनुभएको थियो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले पुरस्कारका संस्थापकहरू तथा सम्मानित व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो भने दायित्व वाङ्मय प्रतिष्ठान तथा दायित्व पत्रिकाका बारेमा पनि चर्चा गर्नुभएको थियो । साथै सम्मानित व्यक्तित्वहरुले पनि आआफ्ना धारणाहरु राख्नुभएको थियो ।
कार्यक्रममा कवि कृष्णप्रसाद बस्यालद्वारा लिखित ‘समयका झिल्का’ कविताकृति, कवि केशवराज पन्तद्वारा लिखित ‘भावनाका झिल्का’ कविताकृति ‘कैलासदेखि सागरसम्म’ यात्रासंस्मरण कृति तथा दायित्व द्वैमासिकको १५८ औँ अङ्कको लोकार्पणसमेत गरिएको थियो ।
संरक्षक सूब सेन, सल्लाकारहरु ठाकुर शर्मा भण्डारी, प्रह्लाद पोखरेल र कलाधर काफ्लेसमेतको उपस्थिति रहेको सो समारोहमा प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. भागवत ढकाल र महासचिव यादव भट्टराईले पनि आआफ्ना विचारहरु राख्नुभएको थियो ।