सुकुम्वासी हटाउँदा खोला मापदण्ड पीडितलाई न्याय गर्न अधिकारकर्मीहरुको माग

सुकुम्वासी हटाउँदा खोला मापदण्ड पीडितलाई न्याय गर्न अधिकारकर्मीहरुको माग
वैशाख २७ । केके मानन्धर ।
सुकुम्वासी हटाउँदा खोला मापदण्ड पीडितलाई न्याय गर्नुपर्नेमा अधिकारीकर्मीहरुले ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकारले देशैभरका खोला तथा नदी किनारका अव्यवस्थित बसोबासीहरुलाई डोजर चलाएर हटाउँदै गर्दा लालपूर्जा भएका खोला मापदण्ड पीडितलाई न्याय गर्न उनीहरुले माग गरेका छन् । लहना साप्ताहिक पत्रिकाको १३ औं वार्षिकोत्सव कार्यक्रममा अधिकारकर्मी डा. विजय सैंजुले राजधानी काठमाडौंमा लालपूर्जा भएका रैथानेहरु डोजर आतंकमा परेकोप्रति असन्तुष्टि व्यक्त गरे । सरकारले वास्तविक सुकुम्वासीको पहिचान गरेर पुनस्र्थापित गराउनुपर्ने भन्दै उहाँले खोला मापदण्ड पीडितको हकमा न्याय दिलाउन माग गरे ।
त्यस्तै देशभरका नेवारहरुको साझा संस्था नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिले सुकुम्वासी हटाउने निहुमा सरकारले रैथानेहरु विस्थापित नगर्न ध्यानाकर्षण गराइन् । नक्कली सुकुम्वासी हटाउँदा वास्तविक सुकुम्वासीलाई सरकारले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
हुनपनि २०६५ सालदेखि बागमती, विष्णुमती, मनोहरा लगायतका नदी किनारबाट २० मिटर क्षेत्र खुला राख्नुपर्ने मापदण्ड लागू गरिएको थियो । पछि सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर जोडेर कुल ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने आदेश दिएको थियो । तर गएको माघमा न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल तथा नृपध्वज निरौलाको इजलासले सर्वोच्च अदालतले २० मिटरसम्म संरचना बनाउन नपाइने फैसलालाई उल्ट्याएको छ ।
कार्यक्रममा कार्टुनिष्ट रविन सायमिलाई नगदसहित लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित गरिएको थियो । नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जनलाई लहना सुशीलबीर सिंह पत्रकारिता पुरस्कार, एपिवान टेलिभिजनकर्मी राजु नापित र खबर सेन्टर अनलाइनका उत्तमकुमार श्रेष्ठलाई लहना धर्ममोति पत्रकारिता पुरस्कार दिइएको थियो । त्यस्तै ईमेज च्यानल टेलिभिजनकर्मी केके मानन्धर र नेपाल टेलिभिजनकर्मी शकुन्तला महर्जनलाई लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार दिइएको थियो । वरिष्ठ निर्देशक पवन जोशी तथा कलाकार आराध्यालक्ष्मी खड्गीलाई लहना शर्मिष्ठा सुर सम्मानबाट सम्मानित गरिएको थियो ।


कार्यक्रममा रविन्द्रराज ताम्रकारबाट लिखित नेपालभाषाको पुस्तक ‘संस्कृति, समाज व व्यवसाय’ को विमोचन गरिएको थियो । साथै सोही कार्यक्रममा लहना मिडियाले नेपाः टिभीमा सन्चालन गर्न लागेको चार वटा कार्यक्रमको घोषणा गरिएको थियो । लहना साप्ताहिकका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठको सभापतित्व सम्पन्न भएको कार्यक्रममा सुरेन्द्रभक्त श्रेष्ठ, प्रतिनिधिसभाका सांसद कुलभक्त शाक्य, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापति, काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका संघीय अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, प्राज्ञ अगिब बनेपाली, नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, शिक्षासेवी, संस्कृतिकर्मी, समाजसेवी लगायतको सहभागिता थियो ।