विस्का जात्राको आज छैठौ दिन स्थानीय जात्राहरु हुँदै
भक्तपुर, बैशाख २ गते ।
८ रात ९ दिन धुमधामले मनाईने विस्का जात्राको आज छैठौ दिन स्थानीय शक्ति पीठहरुको जात्राहरु आयोजना गरी मनाई रहेको छ । योसिंखेलमा हिजो लिंगो ढालेर भैरव र भद्रकालीको रथ जुडाइ सकेर स्थानीय जात्रा आरम्भ हुने जनविश्वास अनुसार विस्का जात्राका विभिन्न पर्वहरु आयोजना भएका हुन् । भक्तपुरको ब्रम्हायणी र महेश्वरीको खत जुडाउने जात्रा, महाकाली र महालक्ष्मीको खत जुडाउने जात्रा जस्तै टोलटोलमा विभिन्न जात्रा गर्दै विस्का जात्रा मनाई रहेका हुन ।
यसै बीच मध्यपुर थिमीको बालकुमारीमा ३२ खते सिन्धुरे जात्रा मनाएका छन भने मध्यपुर थिमीकै बोडेमा जिब्रो छेड्ने जात्रा पनि आज मनाएको छ । आज बोडेका सुजन बाग श्रेष्ठले जिब्रो छेडेका हुन । उनले अहिलेसम्म तिन पटक जिब्रो छेडि सकेका छन् । यसै बीच आज बोडेको कुमारी पाटीमा सात खत जात्रा पनि सम्पन्न गरेको छ । हरेक वर्ष मध्यपुर थिमीमा बैशाख १ र २ गते गरी दुई दिन मात्र विस्का जात्रा मनाउने परम्परा रहेको स्थानीय संस्कृति अध्यता सूर्यराम श्रेष्ठले जनाएको छ ।


मध्यपुर थिमीमा हुने सिन्धुर जात्रा, खत जात्रा, जिब्रो छेड्ने जे जति पर्वहरु छन् ति सबै विस्का जात्रा अन्तर्गत परापूर्वकाल देखि मनाउँदै आएको जात्रा भएको उल्लेख गर्दै उहाँले यी सबै पर्व भक्तपुरको विस्का जात्रा अन्तर्गत नै हुने गरेको बताएका छन् । कहिलेबाट कसरी यो पर्व मनाइयो भन्नेमा एकिन भन्न नसकेपनि उहाँले विस्का जात्राको लोक कथा पर्याप्त रहेको उल्लेख गरेका छन् । बोडेवासीको सुरक्षाकालागि यो पर्व मनाउने गरेको जनविश्वास रहेको चर्चा गदै उहाँले विस्का जात्राकोक्रममा बोडेमा हुने जिब्रो छेड्ने जात्रा संसार प्रसिद्ध रहेको बताए । जनतालाई तर्साउने ख्याकलाई तह लगाउन यो जात्राको सुरुवात भएको जनविश्वास भए अनुसार सुख, शान्तिको कामना गर्दै यो जात्रालाई परापूर्वकाल देखि नै निरन्तर चल्दै आएको बताएका छन् । साथै विस्का जात्रालाई विजय उत्सवको रुपमा पनि एक आपसमा सिन्धुर छर्केर वा लगाएर जात्रा मनाउने परापूर्वकाल देखिको चलन रहेको उहाँले बताए । निःसन्तानलाई बलि दिएपछि सिद्ध पोखरीमा पानी जमेको लोक कथा देखि पिचासलाई धपाउन नागनागिन भएका लोक कथाहरुसँगै वि स्यात खात भन्ने जनउक्ति अनुसार बोडेबासीहरुले विस्का जात्रा मनाउने गरेको पनि उहाँले बताए । भक्तपुरको गलसी पुखुमा प्यास मेटाउन पुगेका राजकुमारले आफूलाई आक्रमण गर्न आएका नाग नागीलाई मारेर त्यसलाई ठूलो काठमा राखेर झुण्ड्याएर सबैलाई देखाउने जात्राको रुपमा विस्का जात्रा विकास भएको जनविश्वास पनि उहाँले व्यक्त गरेका छन् ।














