रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण

काठमाडौं, २४ बैशाख । तराईका जिल्लाहरुमा अझै पनि रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण भेटिएको छ । सक्कली बिल–विजक र अनलाइन ट्र्याकिङ (भिसिटिएस) भएका सामानसमेत नियन्त्रणमा लिएर दुःख दिने गरेको भेटिएको हो ।

महोत्तरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले तस्करहरूसँग आर्थिक लेनदेन गरी ‘लाइन’ (तस्करीको अवैध छुट) दिने गरेको आरोप छ । ‘लाइन’ को रकम नबुझाउने व्यापारीका सक्कली बिल–विजक र अनलाइन ट्र्याकिङ (भिसिटिएस) भएका सामानसमेत नियन्त्रणमा लिएर दुःख दिने गरेको गुनासो बढेको हो।

हालै महोत्तरीमा भएको एउटा घटनाले यो विवादलाई थप उत्कर्षमा पु¥याएको हो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी ढुवानी भइरहेको स्याउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि यो विवाद सतहमा आएको हो ।

गत शुक्रबार राति सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वाटर महोत्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शेरबहादुर अधिकारीको नेतृत्वमा खटिएको टोलीले मनरा सिस्वा नगरपालिका–२ भोल्ही क्षेत्रबाट ३४५ कार्टुन स्याउ लोड गरिएका तीनवटा पिकअप भ्यान नियन्त्रणमा लियो। सशस्त्र प्रहरीले दबाब दिएर भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतलाई मुद्दा दर्ता गर्न लगाएको आरोपसमेत लागेको छ। तर, व्यापारीहरूले आवश्यक सम्पूर्ण सक्कली कागजातसहित भन्सारमा दाबी गरेपछि अन्ततः सामान फिर्ता गरिएको छ।

प्रहरीले प्र–१–०४–००१ च ०४१४, म.प्र.०४–००१ च ०३८० र प्रदेश २–०२–००१ च ०७२२ नम्बरका भ्यानहरू बरामद गरेको थियो। तर, सम्बन्धित व्यापारीहरूले भने ती सामानको सक्कली बिल–विजक र भिसिटिएस इन्ट्री हुँदाहुँदै पनि प्रहरीले जफत गरेको दाबी गरेका छन्।