२४ घण्टामा १ सय ४५ जनाको मृत्यु ।
जेष्ठ २, २०७८
कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा आइतबार १ सय ४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् । २४ घण्टामा ६ हजार ६४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।











