भक्तपुरमा हुलाक मार्फत घरदैलो सेवा सुरु
वैशाख २२ भक्तपुर । भक्तपुर जिल्लामा पनि घरदैलो राहदानी सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालय बीच आज एक सम्झौता गरी जिल्ला प्रशासन कार्यालयबाट जारी हुने राहदानीलाई घरदैलो सम्म पुर्याउने सम्बन्धी सेवा सुरु गरेका हुन । यस घरदैलो राहदानी सेवाले सेवाग्राहीहरु अब जिल्ला प्रशासन धाइ रहन नपर्ने भएको भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकता लिन आएकै दिनमा र राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिकै सहभागिता र प्रमाणिकरणमा मात्र वितरण गरिने भएकाले राहदानी सेवा मात्रै घरदैलो सेवा विस्तार भएको जनाएको छ । यो पनि अनिर्वाय नभई इच्छुक सेवाग्राहीलाई मात्रै दिने गरी हुलाक कार्यालयका कर्मचारी राहदानी शाखामै बस्ने गरी सेवा विस्तार भएको बताउनु भयो ।


नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजना अनुसार सरकारी सेवाहरुलाई सहज, छरिती र प्रविधिमैत्री बनाउने उद्द्देश्यले गभर्नमेन्ट कुरियर सेवा अवधारणा लागू गरिएको हो भन्दै जिल्ला हुलाक कार्यालय भक्तपुरका कार्यालय प्रमुख शिला लिम्बुले सोही योजना अन्तर्ग जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा राहदानी वितरण सेवा घरदैलोमै उपलब्ध गराउने पहल भएको बताउनु भयो । यो सेवासँगै जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग पनि सम्झौता गरी घरदैलो हुलाक सेवा विस्तार गरिने योजना रहेको जनाएको छ । काठमाण्डौ हुलाक कार्यालयले सवारी चालक अनुमति पत्रलाई पनि घरदैलो सेवा दिन थालेको भन्दै जिल्लामा पनि यसै गरी सावरी चालक अनुमति पत्र, नापी तथा मालपोत कार्यालयबाट नक्सा एवं लालपुर्जा सहित महत्वपूर्ण कागजातहरु पनि घरदैलो सेवा अन्तर्गत सेवा विस्तार गर्न सकिने धारणा राखेका छन् । जिल्लाको पहिचान बोकेको स्थानीय उत्पादनलाई पनि देश विदेशसम्म धुवानी गर्ने सेवा पनि हुलाक सेवाले गर्न सकिने उल्लेख गर्दै सो सेवा विस्तार गर्न थप तयारीको आवश्यकतामा जोड दिएका छन् ।
सम्झौता अनुसार राहदानी विभागबाट प्राप्त राहदानी जिला प्रशासन कार्यालय भक्तपुरले सुरक्षित रुपमा राखी सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने भएको छ । अब हुलाक कार्यालयले बढीमा ७ दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुरÞ्याउने हुलाक अधिकृत शीता शाम्बाले बताउनु भयो ।
आजबाट सुरु भएको राहदानी सेवा बारे थप प्रष्ट पार्दै कार्याय प्रमुख शाम्बाले राहदानी जस्तो संवेदनशील कागजातको सुरक्षा सुनिश्चित गर्न वितरण प्रक्रियामा विशेष सतर्कता अपनाइने उल्लेख गरिएको छ । कुनै कारणवश वितरण हुन नसकेका राहदानी पुनः जिल्ला प्रशासन कार्यालयमै फिर्ता गरिनेछ ।
यस सेवाका लागि सेवाग्राहीले केही हुलाक शुल्क भन्ने तिर्नुपर्ने छ । सेवा प्रभावकारी बनाउन हुलाक कार्यालयले आवश्यक कर्मचारी व्यवस्थापन गर्ने तथा दुवै कार्यालयका अधिकृत कर्मचारीबाट सेवा सञ्चालनको अनुगमन र सुपरीवेक्षण गरिने जनाइएको छ ।
यो सेवा लागू भएसँगै राहदानी लिन सेवाग्राहीले भोग्दै आएको झन्झट कम हुने अपेक्षा गरिएको छ । सम्झौता मितिदेखि नै सेवा कार्यान्वयनमा आएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सूचना अधिकृत सुरेश आचार्यले जनाएको छ ।












