ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वास्थ्य सामाग्री खरिद प्रकरणको छानविन गर्न माग गर्दै आइतबार संस्थाका अध्यक्ष खेमराज रेग्मीले एक विज्ञप्ति जारी गरेको छ । टीआइ नेपाल भ्रष्टाचार विरुद्धमा निरन्तर खबरदारी गर्ने संस्था भएको भन्दै
सार्वजनिक खरिद गर्दा सम्बन्धित कानूनबमोजिम स्वस्थ प्रतिस्पर्धाको आधारमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले गर्नुपर्नेमा कहिले नीतिगत निर्णयको नाममा त कहिले सरकार–सरकारबीचमा खरिद गर्ने नाममा सरकारले पटक–पटक विचौलिया एवं दलालसँगको मिलोमतोमा राज्यकोषको ठूलो रकम अपचलन गरिरहेको कुरा कसैबाट नछिपेको जनाएको छ । यस्ता अनियमितताका बारेमा सञ्चारमाध्यम एवं नागरिक तहबाट बराबर सचेत गराइरहँदा पनि सरकारले उनीहरूको आवाजको उपेक्षा गरेको मात्र होइन, उनीहरूलाई सरकार विरोधीको रुपमा चित्रित गर्ने गरिएको समेत विज्ञप्तिमा भनिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको मान्यता के हो भने, ‘जब नागरिकका आवाजहरूको उपेक्षा गरिन्छ, तब मुलुक निरंकुशतातर्फ उन्मुख हुन्छ । निरंकुशताले सुशासनको त धज्जी उडाउँछ नै, लोकतन्त्रको भविष्य पनि धरापमा पार्दछ ।’ अध्यक्ष रेग्मीले भनेका छन् । यस राष्ट्रिय विपदाको व्यवस्थापनमा सरकार र मातहत निकायहरू खासगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू आ–आफ्नो सुरक्षा खतरा मोलेर पनि अनवरतरुपमा लागि परेका छन् । उनीहरूप्रति टीआई नेपाल धन्यवादसहित उच्च सम्मान व्यक्त गर्न चाहन्छ ।
आज मुलुकले यस राष्ट्रिय विपदसँग लड्न सरकारलाई पूर्णरुपमा साथ र सहयोग दिइरहेको अवस्थामा आपतकालिन संवेदनशीलताको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व तहकै संलग्नतामा अति आवश्यक स्वास्थ्य सामाग्रीहरूको खरिद प्रकरणमा राष्ट्रघाति कमिसनखोरहरूसँग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको सञ्चारमाध्यम तथा नागरिक समाजले उजागर गरेका छन् । यस खरिद प्रकरणमा गलत नियत थियो भन्ने कुराको पुष्ट्याईं सरकारको सोसम्बन्धी पछिल्लो निर्णयले नै गरेको छ ।
अतः प्रधानमन्त्रीज्यूकै भ्रष्टाचार विरोधी प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि यस राष्ट्रिय संकटको बेलामा रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीहरूमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही हुन सम्माननीय प्रधानमन्त्रीज्यू एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग टीआई नेपाल जोडदार माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।














