रोशी खोलाको पहिरो पीडितहरु अझै पीडामै !
काभ्रेपलान्चोक, मंसिर १७ गते
आदिवासी जनजातीहरुमा जलवायु परिपवर्तनका असरहरु बारे अनुभव आदान प्रदान गरी क्षति न्यूनिकरणमा भूमिका खेल्न र सरकारवाला निकायको ध्यानाकर्षण गराउन काठमाण्डौमा भेला भएका १० देशका प्रतिनिधीहरुले आज काभ्रेपलान्चोक जिल्लाको रोशी खोलामा अध्ययन भ्रमण गरेका छन् ।
गत वर्षको असोज महिनाको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण रोशी खोलामा गएको भिषण बाढी र पहिरोले पुर्याएको क्षतिले स्थानीय समुदायमा परेको प्रभावहरु बारे अवलोकन तथा अध्ययन गर्न स्थानीय समुदायसँग छलफल गरेका थिए । हरेक वर्ष वर्षातको समयमा काभ्रेको बनेपा, धुलिखेल, नमबुद्ध क्षेत्रबाट बग्ने पानी रोशी खोला हुँदै सुनकोशीमा मिसिने भए पनि सो वर्ष सो क्षेत्रमा भिषण वर्षासँगै पहिरो जानुको पछाडि जलवायु परिवर्तनकै असर हुन भन्दै स्थानीय समुदायसँगै रोशी पुलमा बसेर अन्तरक्रिया गरेका थिए ।


तामाङ्ग समुदायको बाहुलियता रहेको सो क्षेत्रमा ७ सय भन्दा बढी घर ढुरी रहेको, रोशी पुलसँगैको उब्जनीयोग्य ३ सय रोपनी जमिन बगरमा परिवर्तन भएको र अन्य खेति योग्य जमिनहरुमा समेत सिचाई सुविधा गुमाउनुपर्दा स्थानीय जनता थप आघातमा पर्नुपरेको स्थानीयको गुनासो छ ।
रोशीखोलाको दोभान देखि सुनकोशीसम्म करिव २० किलो मिटर सडक खण्ड खण्डलहर हुँदा र दजनौ घरहरु बाढी पहिरोले बगाएर अतुलनीय धनजनको क्षति तथा बस्तीहरु नै जोखिममा पर्दा पनि न स्थानीय निकायले हेर्यो न सरकार तथा अन्य एनजीओ आइनजिओले नै हेर्यो, वर्ष दिन बितिसक्दा पनि बिपद् बिर्सन नसक्ने गरी बस्नु पर्योे स्थानीय अग्रज मानध्वज लामाले गुनासो गरे । तामाङ्ग समुदायको बाहुलियता भएको रोशी पुल क्षेत्रका समुदायमा सरोकारवाला निकायले चासो राखेमा आफूहरु सुरक्षित साथ बस्न पाउने आसमा छन् । पहिरो रोकथामकालागि कल्भरहरु बन्न थाले पनि असारको भेल ठेग्न नसकिने गरी सानो आकारमा मात्रै बन्न थालेको प्रति आपति जनाउँदै स्थानीय समुदायले आयोजनासँग गुनासो गरिरहेका छन् । स्थानीयले भन्ने अहिले सुखायाममा होइन असारको भेल आउने बेला हेर्न आउनुस यो कल्भटले ठेग्न सक्दैन, त्यस बेला पानीसँगै ठूलठूल्ला ढुंगाहरु पनि बगाएर ल्याउछ, यसले निकास पाएन भने वरपरका बचेका घर पनि पुरिने छ स्थानीयको गुनासो छ ।
गरिखाने खेतहरु समेत बगाएपछि र सिचाईको कुलाहरु समेत भत्किएपछि बुढापाकाहरु मात्रै गाउँमा र युवाहरु सहर र विदेशी जान्न बाध्य भएको स्थानीय सञ्चार सिं लामाले पनि गुनासो गरे ।
कल्चलर सरभाइबरले काठमाण्डौमा आदिवासी समुदायमा जलवायु परिवर्तनका असरहरु बारे अनुभव आदानप्रदान गर्न आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन पश्चात आज रोशी खोलाको स्थलगत अध्ययन गरेका थिए । सो अध्ययनमा एशिया र अफ्रिकी १० मुलुकका ४ दर्जन प्रतिनिधीहरुको सहभागिता थियो ।












