भक्तपुर नगरीमा मनाइयो, आज द्यः स्वगं विय्गु पर्व
भक्तपुर, बैशाख ४ गते
भक्तपुरको ऐतिहासिक विस्का जात्राको आज आठौ दिन द्यः स्वगं बिय्गु पर्व धुमधामले मनाएको छ । आगँन घरमा विराजमान गराइएका देवदेवीहरुलाई सगुन चढाउदै आज भक्तपुर नगर जात्रामय भएको हो । द्यः स्वगं बिय्गु जात्राकालागि परम्परा देखि छुटै मार्ग निधारण गरे अनुसार साँस्कृतिक बाजा गाजा, भजनर्किर्तन सहित भक्तजनहरुले आआफ्नो गछेता अनुसार सगुन चढाएका हुन । आजको दिन भक्तपुर नगरको तौलाछेका समुदाय र बालाखु गणेश व्यासीका समूहले सामुहिक रुपमा देवतालाई सगुण चढाउन नगर परिक्रममा गरेको थियो । ति समूहले टोलवासी दिदी बहिनी तथा दाजुभाईहरुको सयौ जनाको समूहले हरेक देवदेवीको प्रागणमा भोज पस्केका थिए ।

विस्का पर्व धुमधामले मनाउन देवगृहबाट बाहिर आएका स्थानीय देवदेवीहरुलाई देवगृह फकाउनपूर्व सगुन दिने परम्परा रहेको जनविश्वास छ । द्यः स्वगं विय्गु पर्व सम्पन्न भएसँगै साँस्कृतिक बाजा गाजासहित ती देव देवीहरुलाई खतमा विराजमान गर्दै र खतहरु जुडाउँदै देवगृहमा आज साँझ प्रवेश गर्ने चलन छ ।
द्यः स्वगं बिय्गु पर्वमा पस्केको नेवारी परम्परा अनुसारको भोज हेर्दै आकर्षक देखिन्छ । करिव ४ फिट फराकिलो लप्ते पातले उनेको प्लेटमाथि चिउरा, चिउरामाथि कालो भट्मास, अण्डा, लसुन, अदुवा, त्यसमाथि चतामारी, व, माछा, अनि यी नै भोजको फेडमा सलिहरुमा अय्ला अर्थात रक्सी, थों, अनि राँगो, कुखुराका मासुहरुको परिकार, त्यसै गरी गेडागुडी र तरकारीहरु साथमा फलफुलहरुका साथै भक्तजनहरुले रुचाएको अन्नका परिकार, विस्कुट, चकलेट र दक्षिणा अर्थात पैसा चढाएर द्यः स्वगं विय्गु जात्रा मनाएका हुन । हरेकले एउटा एउटा परिकार पस्किदा सिंगो ८४ बेञ्जनजस्तै भोजको परिकार त्यसमाथि भक्तपुरको जुजु धौ र योमारी पनि चढाएर ऐतिहासिक द्यः स्वगं बियगु जात्रालाई मौलिकता प्रदान गरेको छ । ९दिन ८ रातसम्म मनाईने विस्का जात्रा अन्तर्गत हुने विभिन्न जात्राहरु मध्ये द्यः स्वगं वियगु जात्रा महत्वपूर्ण पर्व भएको स्थानीय संस्कृति अध्यता विष्णुबहादुर मानन्धरले जनाएको छ । नगरभर टोल टोलमा विराजमान गरिएका देवदेवीको संख्या ३५ भन्दा बढी रहेको चर्चा गर्दै उहाँले पुर्खाले मनाउँदै आएको द्यः स्वगं वियगु जात्रा विस्तारै परिमार्जन भएकोमा टिप्पणी गरेका छन् । परापूर्वकालमा द्यः स्वगं वियगु जात्रा मनाउन रातभार भजनकीर्तिनहरु हुने गरेको तथा अधिकांस साँस्कृतिक टोलिहरु बासुरी बाजा हुने गरेको औल्याएका छन् । तर अचेल धिमायु बाजा बढी भयो । भजन गाउने युवाहरुको कमी भएको भन्दै उहाँले यो जात्राको महत्व नयाँ पुस्तालाई बुझाउनै नसकेको चर्चा गरेका छन् । समय अनुसार द्यः स्वगं वियगु जात्रामा आधुनिकीकरण हुन थालेले संस्कृति पनि परिवर्तन हुन थालेकोमा दुःखसो पोखेका छन् । यस्तो महत्वपूर्ण जात्राको संरक्षणकालागि राज्यले नै बन्दोवस्ती गर्नुपर्नेमा जोड दिदै उहाँले भक्तपुर चारैतिर अष्ठमात्रिकाहरुले घेरिएको मोलिक शहर भएकोले यसलाई सम्रक्षण गर्न आवश्यक भएकोमा जोड दिएका छन् ।











