बालबालिकाकालाई कुपोषणबाट जोगाउन रैथाने खानामा जोड दिनुपर्ने ।।

बालबालिकाकालाई कुपोषणबाट जोगाउन रैथाने खानामा जोड दिनुपर्ने ।।
बालबालिकाकालाई कुपोषणबाट जोगाउन स्थानीय खानेकुराको प्रयोग बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागीले जोड दिएका छन् । गाउँगाउँमा खेती गरिने कोदो, फापर, गहुँ, जुनेलोलगायतका रैथाने बालीमा पोषण हुने भएकाले बालबालिकाका लागि उपयोगी हुने भन्दै यसको प्रयोगमा जोड दिनुपर्ने उनीहरूले बताएका हुन् । वल्र्ड भिजन इन्टरनेश्नल नेपालसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले बालबालिकाको पोषणमा सहजै पाइने तयारी खानेकुराले नकरात्मक असर गरेको बताएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५६ प्रतिशतमा झरेको जानकारी गराउँदै यो बालबालिकाको स्वास्थ्यका लागि उचित नभएको बताउनुभयो । नेपाल जनसाङ्खीक सर्वेक्षणले हाल ६ देखि ५९ महिनाका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, ८ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको बताउँदै उहाँले यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वल्र्ड भिजनका पैरवी तथा अभियान व्यवस्थापक श्याम अधिकारीले विद्यालयमा दिवा खाजाको सुरुवात राम्रो भए पनि यही खाजामा पनि पोषिलो खानालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालय तथा समुदायमा भएका बालबालिकालाई पोषणयुक्त खानामा पहुँच पु¥याउने, नीति तथा कार्यक्रममा बालबालिकाको अर्थपुर्ण संलग्नतालगायतमा जोड दिइएको बताउनुभयो । अनुसन्धानकर्ता दिपेश घिमिरेले पोषण सम्बन्धी नीतिको समीक्षा प्रस्तुत गर्नुहुँदै नेपालमा जंक फुड अर्थात तयारी खानाको असर सहरमा भन्दा बढी गाउँमा देखिएको जानकारी दिनुभयो । पछिल्लो समय हरेक पालिकालाई पोषणमैत्री बनाउने सकरात्मक अभ्यासको थालनी भएको बताउनुुहुँदै बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने गरि नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत स्वास्थ्य, शिक्षाको हक, वातावरणको हक, बालबालिकाको हक पोषणलाई सहयोग गर्ने हक भएको बताउनुभयो । देशका कतिपय स्थानीय तहले पोषणलाई सहयोग गर्ने किसिमको सुत्केरी भेटघाट, उपमेयर भेटघाटलगायतका पोषणयुक्त खाना पु¥याउने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । फापर, कोदो, जुनेलोलगायतका रैथाने बाली बिक्री गरेर तयारी खाना खरिद गरि खाने चलनलाई रोक्नुपर्ने उहाँको सुझाव छ । कार्यक्रममा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले सबैको घरमा तयारी खानाको प्रयोग बढ्दै गएकाले यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो । बालबालिकालाई तयारी खानाको स्वाद चखाउने अभिभावक नै भएकाले यस्तो कदमले बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुग्ने उहाँको भनाइ छ । पोषण सम्बन्धी सचेतना फैलाउन आयोगले पनि पहलकदमी लिने उहाँले प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा पोषण सम्बन्धी ऐन, कानुन र नीति पर्याप्त भए पनि पूर्ण कार्यान्वयन नभएको बताउनुभयो । पोषणयुक्त बालीको खेती हुनै छाडेको तर्फ स्मरण गराउँदै उहाँले भएका रैथाने बालीबाट पनि परिकारलाई विविधिकरण गर्नुपर्ने बताउनुभयो । विद्यालयले प्रदान गरिरहेको दिवा खाजालाई पोषणको दृष्टिकोणबाट मानव अधिकार आयोगले अनुगमन गरिरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।