माघ २२ गते देखि १४ वर्ष सम्मका बालिकाहरुलाई क्यान्सर विरुद्ध एचपीभी खोप दिने
भक्तपुर । पुस २९ गते
आगामी माघ २२ गते देखि १४ वर्ष मुनिका बालिकाहरुलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्ध एचपीभी खोप दिने भएको छ । देशभर अभियानकै रुपमा १७ लाख बालिकाहरुकालागि यो खोप निःशुल्क दिने सरकारको तयारी छ । सो तयारी बारे अभिमुखिकरण गर्न आज जिल्ला खोप समन्वय समिति भक्तपुरले एचपीभी खोप अभियान २०८१ अन्तर्गत खोप समन्वय समितिका पदाधिकारी एवं सञ्चारकर्मीहरुका लागि सोमबार भक्तपुरमा अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी गरेको छ । पाठेघरको मुखको क्यान्सरकै कारण देशमा हरेक दिन ४ जनाको अनाहकमा ज्यान गइरहेको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न सकिने विश्वासका साथ यो अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।
गोष्ठीमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमले क्यान्सर रोग विरुद्ध विश्वव्यापी एचपीभी खोप अभियान अन्ँतर्गत नेपालमा पनि सञ्चालन हुन लागेको उल्लेख गर्दै यो खोप विश्वसनीय रहेको बताउनु भयो । विश्व मानचित्रमा नेपाल यो अभियानमा ढिला भएपनि प्रभावकारी रुपले कार्यान्वयनको तयारी भएको बताउनु भयो ।
भक्तपुर जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुले पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको जनाए । गोष्ठीमा भक्तपुर जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति भक्तपुरका सभापति ईश्वरबहादुर थापाले जिल्लाका चारवटै नगरपालिकाभित्रका विद्यालयका छात्राहरु र बिद्यालय बाहिरका किशोरीहरुलाई सफलतापूर्वक खोप लगाइदिने बताए । जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडेले खोप अभियानका योजनाबारे सुनाइन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाको खोप अभियानलाई सफल पार्न सवै लाग्नुपर्ने खाँंचो औल्याए । गोष्ठीमा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जिल्लामा विद्यालयभित्रका १६ हजार ६ सय २८ र बिद्यालय बाहिरका एक हजार ६३ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको जानकारी गराए । केन्द्रिय सरकार नेपाल सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका झण्डै १७ लाख किशोरीहरुलाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर गराउनेविरुद्धको खोप) लगाउने भएको छ । देशभर एकैसाथ देशका विभिन्न ठाउँंका विद्यालयहरुमा खोप केन्द्र राखेर कक्षा ६ देखि १० सम्म विद्यालय जाने किशोरीहरुलाई र अन्य विभिन्न ठाउँंहरुमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष समूहका किशोरीहरुलाई खोप दिइन लागेको हो । यसका लागि खोप जिल्ला जिल्लामा पुगिसकेको जनाइएको छ । खोप निःशुल्क दिइने छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय भित्र र बाहिरका गरी कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ । यसका लागि देशभरका १८ हजार नौ सय विद्यालयहरुमध्ये आठ हजार दुई सय विद्यालयहरुमा खोप केन्द्र रहने छन् । कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीहरुलाई नजिकै रहेको विद्यालय वा अन्य खोप केन्द्रमा लगेर खोप दिलाइने छ । विद्यालय बाहिरका किशोरीहरुका लागि विद्यालय बाहिरका अन्य केन्द्रहरुमा लगेर खोप दिलाइने छन् । यसका लागि २७ हजार ८० जना स्वास्थ्यकर्मीहरू परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार ६ सय ७४ सुपरिवेक्षकहरू संलग्न हुनेछन् । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो रहेका कारण नर्याँ विकशित यो खोप नेपालमा पनि दिन लागिएको हो । विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर किशोरीलाई खोप दिन लागिएको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने तथ्यांक छ । नेपालमा पाठेघरमा हुने क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको संख्या र मृत्यु हुने सख्या नेपालमा बर्सेनि बढ्दै गएको तथ्यांक छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरूमा यो चौथो स्थानमा रहेको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२÷७३ र २०७३÷७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’ को रूपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ । खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१÷८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा. गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताए । उनका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । ’अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ’, उनले भने । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै आइपुग्ने उनको भनाइ छ । के हो एचपीभी खोप ? चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरू बताउँछन् । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।














