२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा, यस्तो छ कार्यक्रम
काठमाण्डौ, पुस २८ गते
“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह कीर्तिपुरमा मनाइने भएको छ । २७ औं भूकम्प सुरक्षा दिवस २०८१ कीर्तिपुरको बि.पी. कोइराला मेमोरियल विज्ञान संङ्ग्रालयको सभा हलमा दुई दिनसम्म मनाउने भएको २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार प्रसार समितिले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको हो ।
वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सरक्षा दिवसको रुपमा मनाउँदै आएको हो । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा भई सोही बमोजिम मूल समारोह समति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको संयोजकत्वमा प्रचार प्रसार उपसमितिको व्यवस्था गरेकोे छ ।



भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उदेश्यका साथ मूल नाराले निर्दिष्ट गरे वमोजिम जनसचेतना अभिवृद्धि गर्ने देशव्यापी रुपमा कार्यक्रम संचालन तथा आयोजना हुने भएपनि मूल समारोह भने प्रधान मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कीर्तिपुरमा आयोजना गर्ने भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन र अवलोकन समेत गर्ने आयोजक समितिले जनाएको छ ।
दुई दिनसम्म हुने सो प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाहरुको पनि सहभागिता हुने २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार प्रसार संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई.मचाकाजी महर्जनले जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य सचिव, एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक डा. रमेश गुरागाईल दिवसको महत्व बारे प्रकास पारेका थिए । पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशकहरू प्रकीर्ण तुलाधार, रवीन्द्र बोहोरा र एकराज अधिकारी एवं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिनु भयो । पत्रकार सम्मेलनमा एनसेटका खड्गसेन ओलीले सहजिकरण गर्नु भएको थियो ।














