देशमा सुशासन कायम गर्न व्यापारीलाई अक्त्तियारले तान्ने सरकारको तयारी!

देशमा सुशासन कायम गर्न व्यापारीलाई अक्त्तियारले तान्ने सरकारको तयारी !
भक्तपुर, कार्तिक १४ गते
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले देशमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न व्यापारीलाई समेत अक्तियार तान्ने सरकारको तयारी रहेको बताएका छन् । देशमा भ्रष्टाचार मौलाएको कारण कमिसन र धुस ब्यापारीले दिने गरेको सरकारी अधिकारीहरुको बुझाई भएकाले ब्यापारीहरुलाई अक्तियार तानेर भ्रष्टाचार नियन्त्रण गर्ने सोच सरकारको छ उनले भने सरकारको १७ खर्व बजेट मध्ये १२ खर्व रकम व्यवसायीहरुले तिरेको करबाट उठ्ने गरेको छ । सरकारको बजेटमा ८१ प्रतिशत ब्यवसायीको योगदान छ । यद्यपी व्यवसायीहरुको माग र सुझावलाई सरकारले सुन्दैन । देश विकासकालागि उद्यमीलाई सँगसँगै लानुपर्नेमा जोडदिदै उपाध्यक्ष बैद्यले भने ३३ देखि ४० प्रतिशत उद्यमीलाई नीतिनिर्माणस्थल संसदमा नपुर्याएसम्म देशको आर्थिक उन्नति हुन सक्दैन ।

भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच समस्त उद्योग वाणिज्य क्षेत्रको हित र प्रवद्र्धनका लागि भ्रातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा अस्ताक्षर कार्यक्रमका प्रमुख अतिथीहरुको रुपमा सहभागि हुनु भएका उपाध्यक्ष बैद्यले सो कुरा बताउँदै देशको अर्थतन्त्र लयमा फर्कि सक्दा, ५ खर्व सञ्चिति भइसक्दा, रेमिटेन्स पर्याप्त रुपमा भित्रि रहँदा पनि बैंकको व्याज दर नघटाएर व्यवसायीलाई सरकारले दवाउने नीति लिएको गलत भएको बताए । ब्यापारीहरु अव आन्दोलन गर्न तयार भएको भन्दै उपाध्यक्ष बैद्यले अव ठूला उद्यमीहरुबाटै आन्दोलनको सुरुवात हुने बताएका छन् ।उनले भने ठूला उदमीले उद्योग बन्द गरी साँचो बुझाउन थालेपछि जिल्ला र नगरका उद्यमीले पनि एक साथ आन्दोलनमा जानुको विकल्प छैन । त्यसको नेतृत्व गर्न आफू तयार रहेको भन्दै जिल्ला जिल्लाबाट आफूलाई व्यवसायीले आन्दोलनको तयारी थाल्न सुझाब आएको बताए ।जिल्ला र नगर हाक्नेहरु नै उद्योग वाणिज्य संघ भएको दाबी गर्दै उपाध्यक्ष बैद्यले ब्यवसाय प्रवर्धनकालागि महासंघले विभिन्न क्षमतावृद्धिका तालिमहरु लिएर आएको बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले पोखरा र चितवनसँग भातृत्व सम्बन्ध बनाएर ब्यापार व्यवसाय प्रवर्धन गर्ने योजना अनुसार सर्वप्रथम चितवन संघ सँग समझदारीमा हस्ताक्षर भएको जानकारी दिदै निकत भविष्यमा पोखरासँग पनि समझदारीमा हस्ताक्षर हुने बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले ऐतिहासिक शहर भक्तपुरसँग पुर्खौ देखि आत्मिय सम्बन्ध रहेकोमा भक्तपुर उद्योग वाणिज्य संघसँगको समझदारी पत्रमा हस्ताक्षर पछि झन अनुभव र सिप आदानप्रदान गर्न सहज भएको बताए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केपी ताम्राकार, संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ द्यौभन्जा, चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठसहितले चितवन र भक्तपुरको ब्यवसायीक सम्बन्ध र सम्भावनाहरुको चर्चा गर्दै व्यवसायीक समस्या र गुनासाहरुको समीक्षा गरेका थिए ।