भक्तपुरका ७० प्रतिशत वालबालिकाहरुले खाए, पोखियो थोपा
भक्तपुर, श्रावण ११ गते
भक्तपुर जिल्लाका ५ वर्ष मुनिका ४४ हजार बालबालिकाहरु मध्ये ७० प्रतिशत वालवालिकाहरुमा पोलियो थोपा खुवाउन सफल भएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । काठमाण्डौ स्थित टुकुचाको ढलको पानी परिक्षणमा पोलियोका जिवाणु पुष्टि भएपछि काठमण्डौ उपत्यकामा श्रावण ९ गते देखि १२ गतेसम्मकालागि जारी पोलियो थोपा खुवाउने अभियान अन्तर्गत भक्तपुर जिल्लामा आजसम्म ७० प्रतिशत बालबालिकाहरुलाई पोलियो थोपा खुवाउन सफल भएको जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले जनाएको हो ।


५ वर्ष मुनिका बालबालिकाहरुलागि यो खोप अभियानले नियमित खोपको सुनिश्चिता बारे स्थानीय खोप अधिकृतहरुलाई अपडेट हुनुकासाथै बालबालिकाहरुमा पोलियो विरुद्ध थप इनर्जी प्राप्त हुने भएकोले यो अभियानको दोहोरो फाइदा रहेको बताउँदै उहाँले बालबालिकाहरुकालागि घर दैलो तथा नजिकैको स्वास्थ्य चौकी, अस्पतालहरुमा शिविर राखेर पोलियोको थोपा खुवाउने अभियान जिल्लाभर नै सञ्चालन भएको उहाँले बताउनु भयो ।
विश्व स्वास्थ्य संगठन, युनिसेफ सहितका सामाजिक संस्थाहरुका स्वास्थ्यकर्मी, स्वयमसेवकहरुको प्रत्यक्ष नियमनमा खोप अभियान सञ्चालन भइरहेको खोप अधिकृत शान्तिराम खतिवडाले बताएको छ । पोलियोको खोप नभई थोपा खुवाउने भएकाले धेरै सजिलो तरीकाले पोलियो थोपा खुवाउने कार्य भइरहेको भएपनि घरभित्रै रहेका बालबालिकाहरु पोलियो थोपा खुवाउनबाट छुट्ने हुन कि भन्ने चिन्ता रहेको उहाँले बताए ।
श्रावण १२ गतेसम्म पनि छुटेका बालबालिकाहरुकालागि थप पोलियो थोपा खुवाउने व्यवस्था बारे सरोकारवालाहरु बीच छलफल भइरहेको भन्दै जनस्वास्थ्य अधिकृत ओझाले खोप अभियानको अवधिमा बसाई सराई तथा आउजाउले गर्दा सम्पूर्ण बालबालिकाहरुमा खोपको सुनिश्चित गर्न गाह्रो भएको चर्चा गर्दै उहाँले भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाहरु पूर्ण खोप सुनिश्चित नगरहरु भएकाले पोलियो थोपा पनि सम्पूर्ण बालबालिकाहरुको पहुँचमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।











