२० वर्षपछि काठमाण्डौमा पोलियोको जीवाणु भेटिएपछि चानपाले थाल्यो पूर्वतयारी
भक्तपुर, श्रावण ६ गते
काठमाण्डौको टुकुचा खोलामा पोलियोका जिवाणु भएको पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन नेपाल शाखाले थप सतकता अपनाउन आग्रह गरेको छ । संगठनका डाक्टर रुपेश तिमल्सेनाले आज चाँगुनारायण नगर खोप समितिका पदाधिकारी एवं जनप्रतिनिधीहरुको बैठकमा टुकुचा खोलामा देखिएको पोलियोको जिवाणुले बाल स्वास्थ्यमा पार्न सक्ने खोखिमको विश्लेषण गर्दै काठमाण्डौ उपत्यकामा पोलियो विरुद्ध खोप अभियान सञ्चालनको तयारी भएको जनाएको छ ।


नेपालमा पोलियो उन्मुलन घोषणा भएको २० वर्षपछि पोलियोको जिवाणु भेटिनु थप जोखिमको विषय भएकाले यस बारे जनचेतनासँगसँगै बालबालिकाहरुमा खोप सुनिश्चित गर्नुृपर्नेमा जोड दिदै भएको सो बैठकमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण नगर खोप सुनिश्चित नगर घोषणा भई सकेकोे नगर भएकाले पनि उपत्यकामा देखिएको पोलियोको जोखिमलाई ध्यान दिएर थप सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो । विपद् प्रतिकार्यको तयारी नगर्दा विपद्मा हामी आतिने गरेको उल्लेख गर्दै नगर प्रमुख खत्रीले विपद् पूर्वतयारीमा पनि ध्यान दिन आग्रह गर्नु भयो । समस्या आएपछि आतिने, क्षति व्योहनुपर्ने भएकाले त्यस्तो हुन नदिन पूर्वतयारीमा ध्यान दिन राष्ट्रसेवक, कर्मचारी र जनप्रतिनिधीहरुलाई नगर प्रमुख खत्रीले निर्देशन दिएका हुन । हामीले खोला सानो बनायौं, पानी पर्दा बाढी आयो, डुवान ब्यहोरियौं, समस्या आएपछि सहयोग गर्नु भन्दा समस्या नआएकै बेला सहयोग गर्नु प्रभावकारी हुने नगर प्रमुख खत्रीको धारणा थियोे ।

७ हजार बालबालिका रहेको चाँगुनारायण नगरपालिकामा पनि यसै श्रावण ९ गते देखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियानको तयारी स्वरुप सो बैठक आयोजना भएको भन्दै जनस्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाका कार्यालय प्रमुख सत्य कुमार दुवालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । सो बैठकमा उपप्रमुख रमेश बुढाथोकी, चानपा ९का वडाअध्यक्ष गणेश त्यात, ७का वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ, ६ का वडाध्यक्ष धनबहादुर तामाग, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई सहितका जनप्रतिनिधी र स्वास्थ्यकर्मी तथा कर्माचारीहरुको पनि सहभागिता थियो ।














