आज काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना हुने
भक्तपुर, असार २९ गते
भक्तपुरको प्रसिद्ध मुनि विहारका प्रमुख भिक्षु विपस्सी महास्थविरले काँक्राबारीको वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापना गर्ने भएको जनाएको छ । ललितपुर उपमहानगरपालिका वडा नं. १२ प्रयाग पोखरीस्थित सद्धर्मायतन विहारका प्रमुख भिक्षु पञ्ञासार महास्थविरको अगुवाईमा स्थानीय सिंचाहिटी निवासी राजेन्द्र शाक्यको परिवारबाट प्राप्त हुने बुद्ध मुर्ति वन्दुङ डाँडामा स्थापना हुने भएका हुन । वन्दुङ डाँडामा बुद्धमुर्ति स्थापनाको सम्पूर्ण तयारी पूरा गरेको स्थानीय बुद्ध लामाले जनाएको छ । उहाँले भन्नु भयो ‘मुनि विहारको समन्वयमा ललितपुरबाट प्राप्त हुने फाइवरको बुद्ध मूर्ति हाम्रो काँक्राबारी वन्दुङ डाँडामा स्थापना गर्ने तयारी गरेका छौं । आज बुद्ध मूर्ति ल्याएपछि गाउँमा परिक्रममा गरी आजै स्थापना गर्ने छौं ।’ स्थानीय समुदायको आर्थिक भौतिक सहयोगबाट बुद्धमुर्ति स्थापनाको तयारी पूरा गरे पनि बुद्धमूर्ति स्थापना हुने ठाउँमा शौचालयको अभाव रहेको भन्दै उहाँले शौचालय निर्माणकालागि पहल भइरहेको बताए ।

मुनि विहारका भिक्षु महास्थविरले भने आज ललितपुरका दाताहरुबाट दुईवटा मूर्ति सहयोग प्राप्त हुने बताउँदै त्यस मध्ये एउटा आजै वन्दुङ डाँडामा स्थापना हुने र अर्को केही समयपछि स्थापनाको तयारी भएको बताए । आयोजकहरुका अनुसार आज ल्याइने दुईवटा बुद्ध मूर्ति मध्ये एउटा सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काँक्राबारीको वन्दुङ डाँडामा आजै स्थापना गर्ने छ भने अर्का मूर्ति सोही स्थानको गढि डाँडामा स्थापना गर्ने योजना छ ।
ललितपुरका दाताहरुबाट प्राप्त हुने बुद्ध मूर्ति प्राप्त गर्न आज विहान १०ः३० बजे मुनिबिहारबाट एक टोली ललितपुर प्रस्थान गर्ने छन् । ललितपुरका दाताहरुबाट प्राप्त हुने मुर्ति मुनिविहार ल्याएर एउटा मूर्तिलाई आजै वन्दुङ डाँडामा लगेर गाउँ परिक्रममा गरी आजै स्थापना गर्ने छन् ।














