अन्तरधार्मिक सद्भावमा नेपाल नमुना ।।
धार्मिक बिभिधता भए पनि नेपाल अन्तरधार्मिक सद्भावमा नमुना देश भएको बिभिन्न धर्मका अगुवाहरुले बताएका छन् । विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका अवसरमा महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले आज काठमाण्डौमा गरेको कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् । पछिल्लो समय अन्तराष्ट्रिय संघ संगठनहरुले पनि हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरुको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमहरु तय गरेकोले धर्मगुरुहरुको भूमिका बढाउदै लानु पर्ने इस्लाम धर्मगुरु जिबप्रसाद पोखरेलले बताउनुभयो । नेपालमा पछिल्लो समय धार्मिक सद्भावमा खलल पार्ने बिभिन्न तत्वहरु सकृय हुन थालेकाले सबै धर्मका धर्मगुरु एकजुट भएर अगाडी बढ्नु पर्ने अन्तरधार्मिक परिषदका अध्यक्ष दामोदर गौतमले बताउनुभयो । हिंसा र अन्याय गर्ने व्यक्ति धर्मगुरु हुन नसक्ने उहाँको भनाई थियो । संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव अनुसार विश्व अन्तरधार्मिक सद्भाव सप्ताह प्रभावकारी ढंगले मनाउन थालिएको निरनका उपाध्यक्ष एवं महिला ज्योतिष संघका अध्यक्ष रती श्रेष्ठले बताउनुभयो ।



अन्तरधार्मिक गतिविधीहरु मार्फत बिभिन्न कार्यक्रम गरेर समाजमा चलेका कुरीतिहरुको अन्त्य गर्न सकिएको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिनुभयो । बाही धर्मका धर्मगुरु एवं डा. नरेन्द्र पाण्डेले आफ्नो सोध पत्र प्रस्तुत गर्दै नेपाली सञ्चार माध्यमले यस बिषयलाई प्राथमिकता दिन नसकेकाले अब सञ्चार माध्ययमलाई यसको महत्वको बारेमा जानकारी गराउने कार्यक्रम आवस्यक रहेको बताउनुभयो । इसाई धर्मका पास्टर महेन्द्र भट्टराईले धर्मका नाममा हुने राजनीतिलाई सञ्चार माध्यमले प्रवर्धन गर्न नहुने बताउनुभयो । सीआईएनका व्यवस्थापक दिपक आचार्यले सामुदायिक रेडियोहरुले धर्मगुरुहरुका आवाजहरु सबै सामु फैलाएर धार्मिक सद्भावका साथै सामाजिक रुपान्तरणमा भूमिका खेलिरहेको बताउनुभयो ।
परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले कोरोनाको खोपका लागि धर्मगुरुहरुले राम्रो सन्देश दिए झै अब हुने खोप अभियानहरुमा पनि सघाउ पुराउनु पर्ने बताउनुभयो ।
विभिन्न धर्मका संघसंगठनका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबीच छलफल गरी उहाँहरुकै सुझाव अनुसार निरनले काम गर्दै आएको निरन नेपालका अध्यक्ष भिक्षु पियदस्सी महर्जनले जानकारी दिनुभयो ।













